बिर्तामोड ।

सामाजिक कार्य गर्ने उदेश्यले स्थापना भएको सहयोगी मनहरु नेपालले देशब्यापी रुपमा एक हजार ५ सयवढी झुल निःशुल्क बितरण गर्ने भएको छ । गर्मी मौसममा लामखुट्टेको टोकाइबाट डेङ्गुका बिरामी बढेसँगै त्यसबाट बच्न संस्थाले बिपन्नलाई झुल बितरण शुरु गरेको हो । 

विपन्न समुदायको उत्थानको लागि स्थापना भएको सहयोगी मनहरु नेपालले हाल बिपन्न परिवारलाई निःशुल्क झुल बितरण कार्य शुरु गरेको छ । संस्थाले झापा र मोरङका विभिन्न स्थानका ४४ बिपन्न परिवारलाई आइतबार झुल बितरण गरेर अभियान शुरु गरेको  हो । 

अपाङ्ग–असाहय, अनाथ, दृष्टिबिहिन तथा उपचार अभावमा रहेकाहरुलाई आर्थिक तथा परोपकारीको रुपमा सहयोग पुर्याउदै आएको संस्थाले झापासहित देशभर एक हजार ५ सय बढी झुल वितरण गर्ने योजना रहेको संस्थाका सचिव बिष्णु उप्रेतीले बताएका छन् । 

uprety

संस्थाका सदस्य तथा मनकारी दाताहरुबाट स्वेच्छिक रुपमा संकलन गरिएको आर्थिक सहयोगले बिपन्न सहयोग कार्यक्रम अन्तरगत निःशुल्क झुल बितरण गर्न शुरु गरिएको सचिव उप्रेतीले जानकारी दिए । 

आइतवार झापाको मेचीनगर–९ स्थित खुट्टीडाँगीका अतिबिपन्न ३० परिवार र मोरङ जिल्लाको पथरी शनिश्चरेमा १४ परिवारलाई २० थान झुल संस्थाले बितरण गरिसकेको छ । 

कोभिड–१९ र त्यसपछि विभिन्न रुपमा समस्यामा परेका समुदाय र परिवारलाई सहयोग पुर्याउदै आएको संस्थाले २०७६ सालदेखि कार्य गर्दै आएपनि २०७८ सालमा संस्था दर्ता भएको बताइएको छ । 

संस्थाले जाडोयाममा बिपन्नलाई देशब्यापी रुपमा सिरक ढसना बितरण, निःशुल्क स्वास्थ्य शिविर, सीपमुलक तालिमलगायतका सामाजिक कार्य गर्दै आएको सचिव उप्रेतीले जानकारी दिए । इलामका भीमप्रसाद आचार्य अध्यक्ष रहेको संस्थामा ११६ जना सदस्य रहेको बताइएको छ ।