झापा । 

झापाको कचनकवल–६ मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दुर्घटनामा कचनकबल–४ का ४१ बर्षिय कृष्णप्रसाद साहको उपचारको क्रममा  ओमसाई पाथिभरा अस्पतालमा मृत्यु भएको हो ।

त्यस्तै दुर्घटनामा सोही स्थानका १४ बर्षिय संदिप माझी, कचनाकवल–६ का २१ बर्षिय गोपाल राजबंशी र  कचनाकवल–७ का अन्दाजी २४/२५ बर्षिय रामबहादुर राजबंशी घाइते भएका थिए । घाइते उनीहरु तीनै जनाको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । 

गएराती अन्दाजी ९ः५० बजेको समयमा कचनकवल– ६  पेट्रोल पम्प नजिक बनियानी केचना सडक खण्डमा दुई वटा मोटरसाइकल एक–आपसमा ठोक्किदा दुर्घटना भएको थियो । 

केचनाबाट बनियानितर्फ जाँदै गरेको  मे ८ प ८१७ नम्बरको मोटरसाइकल र बनियानिबाट केचनातर्फ आउँदै गरेको BR 36x3944 नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको प्रहरीले जनाएको हो । 

दुर्घटनामा दुबै मोटरसाइकलमा सवार चार घाइते भएर उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर पठाइएको थियो भने दुबै मोटरसाइकल इलाका प्रहरी कार्यालय बनियानिको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।