सुरुङ्गा । 

झापाको कनकाई नगरपालिका–३ सुरुङ्गामा विशेष पुजा अर्चनासहित विविध कार्यक्रमका साथ हनुमान जयन्ती मनाइने भएको छ  ।  पाथीभरा मारवाडी समाज तथा अग्रवाल समाज नगर समितिले मंगलबार  हुने कार्यक्रमको  सम्पूर्ण  तयारी  पूरा भएको जनाएको हो । 

प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने राम भक्त हनुमान जन्म जयन्ती यस वर्ष पनि विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । यस अवसरमा हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि र विद्या मिल्ने तथा दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वास छ । 

समाजले सुरुङ्गामा भोली मंगलबार  बिहान  ९ बजेदेखी सुरुङ्गा बजारभरि निशान यात्रा गरि मन्दिर परिसरमा अखण्ड रामायण पाठ, अष्टयाम संकीर्तन एवं निशान पुजनसहित सञ्चालन हुने जनाएको छ । हनुमान जयन्तीमा गुरु पुरोहितहरुको विशेष टोलीले विशेष झाँकी, श्रीराम भजन लगायत कथा प्रवचन हुने जानकारी दिइएको छ । 

बिहान् ९ बजे सुरु हुने कार्यक्रम बजार परिक्रमा पश्चात् पुनः मन्दिरमा नै आएर बिहान  ११ बजेदेखी महाप्रसाद (भण्डारा) सञ्चालन गर्ने  सन्ध्याकालिन समयमा समेत विशेष कार्यक्रम संचालन गर्ने समाजका  अध्यक्ष इश्वरचन्द्र गोयलले जानकारी दिए । 

कार्यक्रममा विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षाकर्मी लगायत करिव ४ सय बढी भक्तजनको सहभागी हुने अपेक्षा रहेको आयोजक परिवारको विश्वास छ।