झापा । 

घाटीमा लगाएको सुनको सिक्री थुतेर भाग्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका वडा नम्बर १३ श्रीनाथ पेट्रोल पम्प नजिक पूर्व–पश्विम राजमार्गमा पैदल हिडिरहेकी मेचीनगर–१२ सरेडाँगीकी अन्दाजी २१ बर्षिया रचना आङदाम्वेको घाँटीमा लगाएको सिक्री थुतेर भाग्दै गर्दा एक जना पक्राउ परेका हुन् । 

मेचीनगर–१३ तेलिबारीका ३९ बर्षिय दिवश राजवंशीलाई सुनको सिक्री थुतेर भाग्दै गरेको अवस्थामा फेला पारी प्रहरीले सुनको सिक्रि र साईकलसहित नियन्त्रणमा लिएको जनाएको छ । 

सोमवार साँझ ७ः२५ बजेको समयमा पैदल हिडिरहेकी आङदाम्वेको घाँटीमा लगाएको १ तोलाको सुनको सिक्रि अपरिचित व्यक्ति साईकलमा आएर अचानक घाँटीबाट थुतेर फरार भएको भन्ने खवर प्रहरी चौकी चारआलीमा जानकारी प्राप्त हुन साथ तत्काल जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त प्रहरी टोलीले सिक्रि थुत्ने व्यक्तिलाई खोजतलास गर्ने क्रममा मेचीनगर–१३ फुलवासा खोलाबाट पक्राउ गरेको थियो । 

सिक्री थुतेर भाग्ने राजवंशीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।