झापा । 

झापाको छुट्टाछुट्टै दुई स्थानबाट लागू औषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको दमकबाट दुई जना र मेचीनगरबाट एक जना मंगलबार पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका वडा नम्वर ९ घर भई दमक–९ क्याम्पस मोडमा डेरा गरी बस्ने २४ बर्षिय सुजन दाहाल र दमक–९ का २६ बर्षिय भिष्म कडेल रहेका छन् । 

उनीहरुलाई बिशेष सुचनाको आधारमा सुजन दाहाल बसेको कोठामा इलाका प्रहरी कार्यालय दमकबाट  खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट  साना ठुला गरी प्लाष्टिकको पोका पारेको ७० पोका ब्राउन सुगर प्लाष्टिक बाहेक ८ ग्रामसहित बिभिन्न सामाग्री सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । नियन्त्रण गरिएका उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकमा  ल्याएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

त्यसैगरी मेचिनगर–६ पुरानो मेचीपुलमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलिले भारतको पानीट्याङ्कीबाट पैदल आउँदै गरेका कमल गाउपालिका ५  का २० बर्षिया मनिष मगरलाई पक्राउ गरिएको छ । 

मगरलाई शंका लागेर उनको शरीर तलासी लिदाँ  उनले दाहिने हातमा झुण्ड्याई ल्याएको प्लाष्टिकको झोला भित्र सेतो रंगको प्लाष्टिकको पोका पारी ल्याउँदै गरेको लागूऔषध खैरो हेरोइन प्लाष्टिक बाहेक १ ग्राम ५०० मिलिग्राम फेला परेको थियो । उक्त लागूऔष फेला परेपछि उनलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याएर सो सम्बन्धमा थप अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।