झापा । 

झापाको दमकबाट दुई जना भारती नागरिकसहित चार जनालाई लागू औषधसहित प्रहरीले पक्राउ गरेको छ । झापाको बिर्तामोड –९ किराँत चौक घर भई दमक–७ मा डेरा गरी बस्ने २९ बर्षिय  कमल श्रेष्ठको कोठामा प्रतिबन्धित लागू औषध बिक्रि बितरणको लागि संचय गरेर राखेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले उनीहरुलाई बुधवार पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकको संयुक्त प्रहरी टोलीले कमल श्रेष्ठ र दमक–८ बालुवाटारका २९ बर्षिय भान्जा भन्ने रुपेश पौडेल र भारत बिहार राज्य किशनगंज जिल्ला समीदिन कटलबारी वडा नं. ७ लोहा गाराका २५ बर्षिय अंजार आलम र सोही स्थानका २७ बर्षिय  कमरुललाई पक्राउ गरेको छ । 

उनीहरुका साथबाट  १२ ग्राम ११० मिलिग्राम लागूऔषध खैरो हेरोइन नगद २३ हजार ३०० रुपैयाँ र ४ थान मोबाईल फेला परेको परेको प्रहरीले जनाएको छ । 

नियन्त्रणमा गरिएका चारै जनालाई इलाका प्रहरी कार्यालय दमकमा ल्याएर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।