सुरुंगा ।

झापाको कनकाई नगरपालिकामा आजदेखि हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान शुरु भएको छ ।

कनकाई ३ स्थित सुरुंगा बजार आयोजित औषधि सेवन अभियान शुभारम्भ कार्यक्रममा नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले औषधि सेवन गरेर अभियानको उद्घाटन गरेका छन् ।

हात्तीपाइले रोगविरुद्धको औषधि अन्य समयमा बिरामी पर्दा पनि खाने गरिएको बताउँदै कुनै पनि भ्रममा नपरी औषधि सेवन गर्न सबै नगरबासीलाई आग्रह गरे । हरेक क्षेत्रमा अब्बल कानकाई नगरपालिकालाई हात्तीपाइले रोगविरुद्धको अभियानमा समेत शतप्रतिशत औषधि सेवन गरेर अब्बल र उदाहरणीय बनाउन उनले आग्रह गरे । 

कनकाईमा अभियान सफल बनाउन कार्ड प्रणाली लागू गरिएकाले औषधि सेवन गर्ने नगरबासीलाई नगरले उपलब्ध गराउने सेवा सुविधाबाट बञ्चित गरिने बताए । औषधि सेवन गरे कुनै प्रकारको समस्या देखिएका त्यसका लागि नगरले औषधोपचारका लागि सहयोग गर्ने उनले बताए । 

कार्यक्रममा उपप्रमुख आशा शर्मा सिवाकोटीले झापाका १५ पालिकामध्ये कनकाई उच्च जोखिममा रहेको बताइन् । हात्तीपाइले रोग निवारण गर्न आफू मात्र नभई अरुलाई समेत औषधि सेवन गर्न प्रोत्साहित गर्न उनले आग्रह गरिन् । “घरमा कसैले औषधि खान छुट्यो भने त्यसबाटै हामीलाई रोग सर्न सक्छ”, उनले भनिन्,  “अभियानलाई सफल बनाउन म सबैलाई आग्रह गर्छु ।”

कार्यक्रममा नेपाली कांग्रेस नगर सभापति दुर्गा प्रसाईं, नेपाल रेडक्रस सोसाइटी कनकाई नगर सभापति बालकृष्ण प्रसाईंले मन्तव्य राख्दै औषधि सेवन गर्न आग्रह गरे । 

कार्यक्रममा नगरकी निमित्त प्रमुख प्रशासकीय अधिकृत जमुना कटुवाल, कनकाई ३ का अध्यक्ष युवराज चम्लागाईं, नेकपा एमाले नगर अध्यक्ष गोकर्ण ओझा, रास्वपाका नगर अध्यक्ष नन्दलाल चुडाल, राप्रपाका नगर अध्यक्ष टीका बराल, नेकपा एसका नगर संयोजक प्रतिक राजवंशी, सहारा नेपालका सञ्चालक समिति सदस्य ध्यानबहादुर भारती, रोटरी क्लब अफ सुरुंगाका अध्यक्ष शिव कँडेल, सुरुंगा जेसीजका अध्यक्ष राजु पाठक, नगरकी सिनियर अनमी टिका दवाडी, विश्वास परियोजनाकी कोपिला अधिकारी लगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन नगरपालिका स्वास्थ्य शाखा प्रमुख खगेन्द्र दंगालले गरेका थिए ।

कनकाईमा १३औं पटक शुरु भएको अभियान अन्तरगत यहाँका ५१ हजार जनालाई औषधि सेवन गराइने नगरपालिका जनस्वाथ्य निरीक्षक नारायण अधिकारीले जानकारी दिए । कनकाईमा गत वर्ष ४८ प्रतिशतले औषधि सेवन गरेका थिए । अभियान सफल बनाउन ८० प्रतिशत औषधि सेवन गराउनुपर्ने छ ।