काठमाडौं । 

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव एवं संयक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को एसिया तथा प्रशान्त क्षेत्र हेर्ने क्षेत्रीय ब्युरो निर्देशक कान्नी विङ्नाराजाले शिष्टाचार भेट गरेकी छिन् । 

सिंहदरबारमा बिहीवार (आज) भएको भेटमा उनीहरूबीच नेपाल र युएनडिपीसँगको सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.रुपक सापकोटाले जानकारी दिए। 

सल्लाहकार सापकोटा अनुसार प्रधानमन्त्री प्रचण्डले नेपालको सामाजिक र आर्थिक विकासमा युएनडिपीले सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि जलवायु परिवर्तनबाट नेपालमा परेको असर न्यूनीकरणमा  युएनडिपीको सहयोग रहने विश्वास व्यक्त गरे । 

राष्ट्रसङ्घका सहायक महासचिव विङ्नाराजाले नेपालले आयोजना गरेको लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिँदै नेपाल–युनडिपीबीचको सहकार्यलाई अझ विस्तार गर्दै लैजानु पर्नेमा जोड दिएकी थिइन् ।