बिर्तामोड । 

बिर्तामोडमा भएको बैक लक्षित तोडफोडप्रति बिर्तामोड उद्योग वाणिज्य संघको गम्भीर ध्यानाकर्षण भएको छ ।बैक लक्षित तोडफोडका क्रममा बिर्तामोडका घरधनी तथा व्यवसायी निर्मल भट्टराई, हरि मिश्र र दिपेश पाठकको घरमा केही युवाहरुको समुहले गरेको आक्रमणको वाणिज्य संघले निन्दा र भत्सर्ना गरेको छ । 

 बिहीवार (हिजो) को घटना क्रमपछि बिर्तामोड उद्योग वाणिज्य संघले शुक्रबार (आज) बिर्तामोडका जनप्रतिनिधि, बस्तुगत संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, उद्योगीव्यवसायी, बैकर्श एसोशिएसन, सुरक्षा निकाय तथा राजनैतिक दलसँग छलफल गरेको छ । छलफलले व्यवसायीको व्यवसाय गर्ने हकलाई कसैले कुन्ठित गर्न नहुने निष्कर्ष निकालेको बाणिज्य संघका अध्यक्ष राजु न्यौपाने र महासचिव कुशल खतिवडाले बिज्ञप्ती जारी गर्दै जानकारी दिएका छन् ।  वाणिज्य संघले बैकहरुलाई कर्जाको बिषयलाई लिएर व्यवसायीलाई अनावश्यक दबाब नदिन अपिल गरेको छ । साथै आर्थिक मन्दिका कारण व्यवसायी समस्यामा रहेकाले व्यवसायीलाई कर्जा र व्याजका बिषयमा दबाब नदिन बैंक तथा बितिय संस्थालाई समेत आग्रह गरेको छ । 

बिर्तामोडको शान्तिसुरक्षा कायम राख्न सुरक्षा निकायलाई आग्रह गर्दै पछिल्लो समय बढ्दै गएको चोरीका घटनाप्रति पनि संवेदनशील हुन संघले आग्रह गरेको छ । सुरक्षा व्यवस्था सहज बनाउदै बैंक तथा वितिय संस्था संचालनको वातावरण बनाउन स्थानिय प्रशासनलाई आग्रह समेत गरेको छ । साथै व्यवसायीक भवनमा क्षति  नपुर्याउन आन्दोलनरत पक्षलाई वाणिज्य संघ सचेत गराएको छ । बैकसँगको असमझदारीमा घरभेटी तथा व्यवसायीलाई नपार्न वाणिज्य संघले आन्दोलनरत पक्षसँग आग्रह गरेको छ । त्यस्तै जारी बिज्ञप्तीमा भनिएको छ ‘बैंक र आन्दोलनरत पक्ष बिचको समस्या बार्ता मार्फत समाधान गर्दै व्यवसायीलाई ढुक्कसँग आफ्नो व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन सबै पक्षसग अनुरोध गर्दछौ ।’

banijya

झापाको बिर्तामोडमा बैंक तथा बित्तिय संस्थामा भएको तोडफोडका बिषयमा छलफल तथा अन्तरक्रिया भएको छ । छलफलमा सहभागी सवैले बैंक तथा बित्तिय संस्थामा भएको घरमा तोडफोडको निन्दा र भत्र्सना गरेका छन् । उनीहरुले उक्त घटनाका कारण ब्यापारी तथा ब्यवसायीहरु त्रसित भएकाले ब्यवसायी तथा उद्योगीको जिउधनको सुरक्षा गरिदिन प्रशासन समक्ष सवैले आग्रहसमेत गरेका छन् । 

यता इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका डिएसपी प्रकाश बिष्टले शान्ति सुरक्षा प्रहरीले दिने भएकाले ढुक्क भएर ब्यवसाय सञ्चालन गर्न ब्यवसायीलाई आग्रह गरेका छन् । 

बाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको छलफल कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका सदस्य उमेश डालमिया, झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेत, बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाई, घरधनी निर्मल भट्टराई, बाणिज्य संघका पूर्व अध्यक्ष बलराम कार्की, एभरेष्ट बैंकका जनक चापागाई, रेडक्रस सोसाइटी झापाका सदस्य सजेश शिवाकोटी, बैकर्स एशोसिएसनका बिर्तामोड अध्यक्ष सुवास श्रेष्ठ, ब्यवसायी मात्रिका कोइराला, चेम्वर्स अफ कमर्सका झापा अध्यक्ष ओमकृष्ण बिमली, राप्रपा बिर्तामोड अध्यक्ष रञ्जु प्याकुरेललगायतले घटना बारे आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रमको सञ्चालन संघका महासचिव कुसल खतिवडाले गरेका थिए । 

राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानको यूवा संगठन नागरिक यूवा दस्ताको बिरोध कार्यक्रममा सहभागी युवाहरुले बिहीवार बिर्तामोडका बैंक तथा बित्तिय तोडफोड गरेका थिए । तोडफोडबाट एभरेष्ट बैंक शाखा रहेको बिर्तामोड–५ स्थित निर्मल भट्टराईको घर, सोही स्थानमा रहेको ज्योति बिकास बैकको शाखा हरि मिश्रको घरमा क्षति पुगेको थियो । त्यस्तै बिर्तामोड–४ मा रहेको एनआईसी बैंकको शाखा रहेको दिपेश पाठकको घरमा भने तोडफोड गर्न गएका युवाहरुलाई लखेटिएको थियो ।