झापा। 

नेपालमा स्थानीय वायुको प्रभाव सँगै देशको पूर्वी भूभागमा रेमल चक्रवातको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश लगायत पहाडी भू–भागमा आज (बुधवार) आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ । आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।  

ती भू–भागहरूमा जेठ १६ गतेदेखि जेठ १८ गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।