झापा । 

झापामा गएराति वर्षा र चट्याङसहित आएको हुरीबतासले ठूलो क्षति पुर्याएको छ । झापाको मेचीनगरमा गएराती १ बजेको समयमा वर्षा र चट्याङसहित आएको हुरीबतासले ठूलो क्षति गरेको छ । हुरीले बिजुलीको खम्बा ढालेपछि गए रातिदेखि मेचीनगर क्षेत्रको विद्युत् आपूर्ति बन्द भएको छ ।

जिल्ला प्रहरी कार्यालयले हुरीले मेचीनगर–७, ८ र १० मा ठूलो मात्रामा क्षति पु¥याएको जनाएको छ। प्रहरीका अनुसार सो क्षेत्रका सयौँ घरको छाना उडाएको, बिद्युतका खम्बा ढालेको, विद्यालयका छाना भत्काएको, सडक र निजी जग्गाका रूख ढालेको र केही स्थानमा खानेपानीको वितरण अवरुद्ध भएको छ ।

मेचीनगर–१० स्थित जयश्री हलेसी भेनियर उद्योग, सिद्धिविनायक भेनियर उद्योग र सिद्धार्थ भेनियर उद्योगको जस्तापाताको छाना उडाएको छ । भेनियरका सञ्चालक डिल्लीराम श्रेष्ठले  एक करोड भन्दा बढीको क्षति भएको जानकारी दिएका छन् । उनले तयारी अवस्थामा रहेका सात ट्रक भेनियर पत्ता, टिनको छाना र बेरा भएको उद्योग भत्काएको बताए । सिद्धिविनायकका सञ्चालक श्याम न्यौपानेले हुरीबाट १० लाख रुपैयाँ बढीको क्षति पुगेको बताए । 

नगरका अन्य भेनियर उद्योगमा पनि भौतिक क्षति पुगेको भन्दै यकिन विवरण आइ नपुगेको बताइएको छ  । मेचीनगर–७ का वडाध्यक्ष प्रह्लादमणि ओलीको जोरसिमलस्थित घरको छाना हुरीले उडाएको छ भने आसपासका बस्तीमा दर्जनौँ घरमा क्षति पुगेको छ । 

धुलाबारी इलाका प्रहरी कार्यालयको ब्यारेकको फल्स सिलिङसहित क्यान्टिनको छानो उडाएको छ । त्यस्तै, मेचीनगर–८ इँटाभट्टास्थित आदर्श माध्यमिक विद्यालयको जस्तापाताको छानो हुरीले क्षति पु¥याएको बताइएको छ। त्यस्तै मेचीनगर १० प्रगतिटोलका यामप्रसाद आचार्यको घरको टिनको छानो उडाउँदा ५० हजार, सोही स्थानका मेदनी खनालको घरको टिनको छानो उडाउँदा ५०, राधिका राजवंशीको टिनको छानो र टिनको बेरा भएको पसल उडाउँदा एकलाख ख्याम प्रसाईले सञ्चालन गरेको शिवमु प्लाई उद्योगको ६ ट्रक बराबरको भेनियर पत्ता, सोही उद्योगको छानो, भान्साघरको छानोलगायतका क्षति पुर्याउदा एक करोड ५० लाख रुपैयाँ क्षति भएको प्रहरीले जनाएको छ । 

क्षतिको थप विवरण सङ्कलन भइरहेको र मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।