बिराटनगर । 

मोरङको बिराटनगरदुई दिन ेप्रदेश स्तरिय सुरक्षा गोष्ठी सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा कोशी प्रदेश स्तरिय सुरक्षा गोष्ठी सम्पन्न भएको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्य तथा गृह सचिव एक नारायण अर्यालको अध्यक्षतामा जेष्ठ २७ गतेबाट संचालन भएको उक्त गोष्ठीको उपप्रधान तथा गृह मन्त्री रवी लामिछानेले  उद्घाटन गरेका थिए । 

प्रदेश स्तरिय सुरक्षा गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उप–प्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि भावी रणनिती बनाएर काम गर्नु पर्ने साथै शान्ति सुरक्षा तथा बिकास निर्माण कार्यको लागि तीनवटै सरकार आपसमा समन्वय र सहकार्य गरी अगाडि बढनु पर्ने बताएका छन् । 

उनले बैदेशिक रोजगारीको प्रलोभन दिएर गरीने ठगी नियन्त्रण गर्न, भन्सार चोरी निकासी, कालोवजारी, गुण्डा गर्दी, भ्रष्टाचार नियन्त्रणका लागि दत्त चित्त भई लागि पर्न निर्देशन दिएका छन् ।   बिपद व्यवस्थापनका लागि उपलव्ध श्रोत साधन सहित तयारी अवस्थामा रहन, अपराध नियन्त्रण, सवारी दुर्घटना न्युनिकरण, आत्महत्या न्युनिकरण तथा लागुऔषध दुर्व्यसनि नियन्त्रणका लागि सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गरी सचेतनामुलक कार्यक्रमहरु संचालन गर्न जोड दिनु पर्ने उनले बताए । 

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले समाजमा सुशासन, समृद्धि र अमन चयन कायम गर्नको लागि गोष्ठीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे । 

कार्यक्रममा गृह सचिव एकनारायण अर्यालले गोष्ठीमा भएको प्रस्तुतीकरण एवम् छलफलले एक आपसमा भएका असल अभ्यासको आदान प्रदान गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै बिगतमा भएका कमि कमजोरीहरुबाट पाठ समेत सिक्नु पर्ने बताए ।  गोष्ठीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले कानूनी राज्यको सुनिश्‍चितता गर्न प्रहरी सेवा अपरिहार्य रहेको चर्चा गर्दै विद्यमान कानूनी क्षेत्रहरूमा समयानुकुल परिमार्जन गर्दै लैजान र प्रहरीलाई हातहतियार भन्दा पनि कानूनी अधिकारहरूले सुसज्जित गर्न समय सान्दर्भिक रहने बताए । 

गोष्ठीमा कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री लिला बल्लभ अधिकारी, नेपाली सेनाका रथी अशोकराज सिग्देल क्षेत्री, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मा, गृह मन्त्रालयका सह(सचिवहरू नारायण प्रसाद भट्टराई, भीष्म कुमार भूसाल र थानेश्‍वर गौतमले आ–आफ्नो भनाई राखेका थिए । 

कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मी प्रसाद पौडेलले स्वागत गर्दै कोशी प्रदेशको समग्र विद्यमान सुरक्षा अवस्थाको बारेमा प्रस्तुतिकरण गरेका थिए ।  उक्त गोष्ठीमा गृह मन्त्रालयका पदाधिकारीहरू, कोशी प्रदेशका प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरू, १४ वटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।