बिर्तामोड ।
झापाको बिर्तामोडमा पहिलो पटक कर्मचारी सञ्चय कोषले सेवा केन्द्र विस्तार गरको छ । बिर्तामोडमा सेवा केन्द्र बिस्तारसँगै साविकको मेची अञ्चलका सञ्चय कर्ताले कोषको सेवा पाउने भएका छन् । उपत्यका बाहिर आठ वटा शाखा साथै बिर्तामोड र धनकुटामा सेवा केन्द्र सञ्चालन गरेको कोषका प्रशासक जितेन्द्र धितालले बताए ।
बिर्तामोडमा आज (सोमवार) बाट सञ्चालनमा आएको सेवा केन्द्रको उद्घाटन कोषका प्रशासक धिताल, सह–प्रशासक भारतराज वस्तीलगायतले संयुक्त रुपमा गरेका थिए । कोषका प्रशासक धितालले कोषको सेवासुबिधाका बिषयमा जानकारी गराउँदै कोषको ६३ औं बर्ष प्रवेशको अवसरमा सम्पूर्ण सञ्चयकर्ता तथा निवृत्तभरण योगदानकर्ताको सन्तुष्टिप्रति समर्पित रहने बताए । उनले कोषका सेवासुबिधालाई थप गुणस्तरीय र दिगो बनाउने प्रतिवद्धतासमेत ब्यक्त गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले शुभकामना मन्तव्य राखेका थिए ।
कोषले सञ्जयकर्ता स्वास्थ्य योजना, सुत्केरी तथा शिशु स्वाहार योजना, दुर्घटना क्षतिपूर्ति योजना, काजकिरिया अनुदान योजनालगायका सेवा सुबिधा दिने बिर्तामोड सेवा केन्द्र प्रमुख दिेपेन्द्र सापकोटाले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा सम्पति व्यवस्थापन विभागका विभागीय प्रमुख शान्ता गौतम, शाखा कार्यालय बिराटनगरका कार्यालय प्रमुख रामशरण अर्याल, न्यूटन्स एजुकेशन फाउण्डेशनका प्रिन्सिपल देवेन्द्र हुमागाँईलगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रमको सञ्चालन सेवा केन्द्रका प्रमुख दिपेन्द्र सापकोटाले गरेका थिए । केन्द्रिय कार्यालय पुल्चोक रहेको कोषले ठमेल, लगनखेल र सिंहदरवार साथै उपत्यका बाहिर बिराटनगर, जनकपुर, हेटौंडा, पोखरा, बुटवल, कोहलपुर, सुर्खेत, धनगढी, धनकुटा र आजदेखि बिर्तामोडबाट सेवा दिने बताइएको छ ।
















