दुर्गापुर ।
झापाको कनकाई नगरपालिका–१ वडा कार्यालयले वडावासीलाई विद्युतीय चुलो वितरण गरेको छ । कनकाई नगरको कार्यालय परिसरमा आज (सोमवार) आयोजित एक संक्षिप्त कार्यक्रममा वडाले ८६ जनालाई विद्युतीय चुलो वितरण गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि आशा शर्मा शिवाकोटी, वडाध्यक्ष सुशिलकुमार पोखरेलले लाभग्राहीलाई चुलो हस्तान्तरण गरेका हुन् ।
उप–प्रमुख शिवाकोटीले प्राथमिकताका आधारमा चुलो वितरण गरिएको बताइन् । अर्को पटक समेत चुलो आउने र नपाउने नगरवासीलाई वितरण गरिने उपप्रमुख शिवाकोटीले बताइन् ।
सरकारले एलपी ग्यास आयातको प्रतिस्थापन गरी स्वदेशमै उत्पादित विद्युतको खपत बढाउन विद्युतीय चुलो वितरण कार्यलाई प्राथमिकतामा राखेको उप–प्रमुख शिवाकोटीले बताइन् ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दैै कनकाई नगरपालिका १ का वडाध्यक्ष सुशीलकुमार पोखरेलले वडाबाट कुनै सुविधा नपाएका वडावासीलाई विद्युतीय चुलो वितरण गरिएको बताए ।
पोखरेलका अनुसार वडामा चुलोको माग धेरै भएपनि प्राथमिकताका आधारमा वितरण गरिएको र पुनः वितरण गरिने छ । सुधारिएको चुलो पनि चाँडै वितरण गरिने वडाध्यक्ष पोखरेलले बताएका छन् ।
कुल तीन हजार ८७० पर्ने विद्युतीय चुलोका लागि ७३९ रुपैयाँ नगरपालिका र ८८८ रुपैयाँ चुलो प्राप्त गर्नेहरूबाट लिइएको वडा सदस्य निर्मला खड्काले जानकारी दिइन् ।


















