बिर्तामोड ।
झापाको बिर्तामोडमा पहिलो पटक तीन दिने ‘प्रोग्रामर्स अननोन ब्याटलग्राउन्ड (PUBG) ह्याकाथन’ को आयोजना हुने भएको छ । आगामी साउन २९ देखि ३१ गतेसम्म झापामा पब्जी ह्याकाथन हुने भएको हो ।
डेभलपर्स एशोसिएसन झापाको आयोजनामा बिर्तामोडस्थित गोमेन्द्र बहुमुखी क्याम्पसमा हुने पब्जी ह्याकाथन प्रतियोगितामा भारतबाट समेत सहभागीता रहने बताइएको छ । ह्याकाथन झापामा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने प्रविधि प्रतिस्पर्धा भएको र जसले झापालाई राजधानी बाहिरको प्रविधिक केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
यो एउटा कोडिङ प्रतियोगिता मात्र नभएर झापालाई अन्तर्राष्ट्रिय प्रविधि मञ्चमा चिनाउने अवसर भएको आयोजक अबिरल आचार्यले जानकारी दिएका छन् । अहिलेसम्म नेपाल र भारतका गरी ४० बढी टिमले आवेदन दिएका छन् । आवेदन दिएका मध्येबाट १५ उत्कृष्ट टोलीलाई अन्तिम प्रतिस्पर्धामा सहभागी गराइनेछ ।
सहभागीले कृत्रिम बुद्धिमत्ता÷मेसिन लर्निङ, ब्लकचेन प्रविधि, इन्टरनेट अफ थिङ्स र ओपन इन्नोभेसनमा आधारित सोलुसन बनाउनु पर्नेछ । कार्यक्रम अन्तर्गत प्लस टु तहका विद्यार्थीहरूका लागि वित्तीय साक्षरता, शेयर बजार, कृत्रिम बुद्धिमत्ता र रोबोटिक्स विषयमा कार्यशालाहरू आयोजना गरिनेछ ।
ह्याकाथनको नामजस्तै यसको गतिविधिहरू पनि पब्जी गेमबाट प्रेरित भएका छन् । प्रतियोगिताका विजेता टोलीलाई आकर्षक पुरस्कार, प्रमाणपत्र, पोस्ट इभेन्ट मेन्टोरशिप र स्टार्टअप इन्क्युबेसनको अवसर समेत प्रदान गरिने आयोजले जनाएको छ ।कार्यक्रमलाई गोमेन्द्र क्याम्पससहित बिभिन्न संस्थाहरुले सहयोग रहेको छन् ।


















