बिर्तामोड । 

इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा प्रहरीहरु कार्यालय फर्किएका छन् । गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनपछि विस्थापित प्रहरीहरु आज (बुधवार) देखि कार्यालय फर्किएका हुन् । 

जेनजी आन्दोलनबाट प्रहरी र ट्राफिक प्रहरी कार्यालय तोडफोड र आगजनीबाट क्षतिग्रस्त बनेसँगै प्रहरीहरु विस्थापित बनेका थिए । प्रहरी नहुँदा शान्ति सुरक्षामा चुनौती वढेसँगै युवा व्यवसायी सजेश शिवाकोटी, बिपिन बजगाँई, पदम श्रेष्ठ, रमेश चौधरीबिर्तामोड–५ का वडाध्यक्ष, मिजास पोखरेलको अगुवाईमा  स्थानीय युवाहरुले प्रहरी र ट्राफिक प्रहरी कार्यालय पुनःनिर्माण तथा मर्मत सम्भार शुरु गरेको थिए ।  

युवाहरुको अथक प्रयास र स्थानीय दाताहरुको सहयोगपछि पुनःनिर्माण तथा मर्मत सम्भारको कार्यालय ८०/८५ प्रतिशत सम्पन्न भएसँगै आज प्रहरीलाई कार्यालयमा स्वागत गरिएको हो । बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाई, अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङसहित स्थानीय संघ/संस्था, स्थानीयवासीहरु, भवन पुनःनिर्माणका अगुवा, दाताहरुसहितले आज र्यालीसहित इलाका प्रहरी कार्यालयका डिएसपी विजय श्रेष्ठसहित प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेलसहितको प्रहरी टोलीलाई स्वागतसहित कार्यालयमा प्रवेश गराएका छन् । 

जेनजी आन्दोलनपछि प्रहरीको गिरेको मनबललाई उच्च पार्ने उदेश्यले आज र्यालीसहित कार्यालयमा स्वागत, सम्मान तथा कार्यालय प्रवेश गराइएको पुनःनिर्माण अभियानका अगुवा, युनिक मेशिनरी ट्रेडर्सका सञ्चालक तथा बिर्तामोड उद्योग बाणिज्य संघका सदस्यसमेत रहेका सामाजिक व्यक्तित्व बिपिन बजगाँईले जानकारी दिए । 

१० दिनको अथक प्रयास र सवैको साथ तथा सहयोगका कारण आज प्रहरी र ट्राफिक प्रहरीहरुलाई कार्यालयमा ल्याउन सफल भएको प्रहरी कार्यालय पुनःनिर्मामा अर्का अगुवा पदम श्रेष्ठले बताए । श्रेष्ठका अनुसार चाँडै पुनःनिर्माण कार्य सकेर कार्यालयको उद्घाटनसँगै प्रहरीलाई जिम्मा लगाइनेछ ।