बिर्तामोड ।
विश्वभर विश्वसनीय मोबाइल ब्रान्डका रूपमा चिनिएको सामसङ कम्पनीका मोबाइल खरिद गर्ने नेपाली ग्राहकहरू पछिल्लो समय असन्तुष्ट भएका छन्।
ग्राहकहरूले कम्पनीका नाममा सञ्चालन भइरहेका Samsung Mobile Service Center हरूले ‘सेवा दिनुको सट्टा दुःख दिने काम गरिरहेको गुनासो गरेका छन्। बिर्तामोडस्थित हनुमान कम्प्लेक्समा रहेको सेवा केन्द्रबारे धेरैजसो गुनासोहरू आएको देखिन्छ। मोबाइल खरिद गरेको एक महिनामै बिग्रिएर मर्मतका लागि लैजाने ग्राहकहरूले ‘विभिन्न बहाना बनाइ लामो समयसम्म पर्खाइमा राख्ने’ गरेको बताएका छन्।
एक ग्राहकका अनुसार, ‘मोबाइलको स्पिकर बिग्रिएपछि सर्भिस सेन्टरमा लैजाँदा एक महिनासम्म मोबाइल छोड्नुपर्ने भनियो। १०–१५ मिनेटमा हुने कामका लागि महिनौं कुर्नुपर्ने अवस्था छ।’ बिर्तामोडका मोबाइल व्यापारीहरू पनि कम्पनीको सेवा प्रणालीप्रति असन्तुष्ट छन्। उनीहरूका भनाइमा, ‘३०–४० हजारदेखि दुई लाखसम्मका मोबाइलहरू किनेका ग्राहकलाई सेवा केन्द्रले समयमै मर्मत नगर्दा बजारमै क्बmकगलन मोबाइल बेच्नै छोड्नुपरेको छ।’
हल्दीबारीका एक मोबाइल विक्रेताले भने, ‘किस्ताबन्दीमा बिक्री भएका मोबाइलहरूमा करिब ९० प्रतिशतमा समस्या देखिन्छ। तर सर्भिस सेन्टरले काम ढिलो गर्ने र ग्राहकलाई बेवास्ता गर्ने प्रवृत्तिका कारण व्यापारमै असर परेको छ’ भनेर दुखेसो पोखे। यस्तै, झापाका एक सञ्चारकर्मीले पनि आफ्नै मोबाइल मर्मतका क्रममा पटक–पटक सर्भिस सेन्टरमा पुगे पनि ‘१० मिनेटमा सकिने कामका लागि महिनौं धाउनुपरेको’ बताए।
कम्पनीको केन्द्रीय सर्भिस सेन्टरका एक प्रतिनिधिले भने केही समय लाग्ने भए पनि ग्राहकको सहजताका लागि स्थानीय केन्द्रहरूले alternative handset उपलब्ध गराउन सक्ने व्यवस्था रहेको बताए। तर, बिर्तामोडस्थित सर्भिस सेन्टरले उक्त सुविधा कार्यान्वयन नगरी “दादागिरी शैलीमा” सेवा दिइरहेको आरोप स्थानीय उपभोक्ताहरूको छ।
उपभोक्ता अधिकारकर्मीहरूका अनुसार, नेपालमा ब्रान्डेड मोबाइल कम्पनीहरूलाई नियन्त्रण र अनुगमन गर्ने निकायहरू अझ सक्रिय हुन आवश्यक छ। उनीहरूको भनाइमा, ‘कम्पनीको विश्वसनीयता ग्राहकप्रति जिम्मेवार व्यवहारले मात्र टिक्न सक्छ।’


















