झापा  । 

जनकपुरधाम तनावग्रस्त बनेको छ । जनकपुरधामको सोनारपट्टीमा संजय ठाकुरले नयाँ खोलेको ज्वेलर्समा गएराति प्रहरीले छापा मार्न पुगेपछि प्रहरी र व्यवसायीबीच झडप भएको हो । जसमा प्रहरीले गोली र अश्रुग्यास समेत प्रहार गरेको छ । झडपमा जनकपुरधाम उद्योगवाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका छन् । यता झडपमा १० जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

प्रहरीका अनुसार अवस्था नियन्त्रणमा लिन सात राउण्ड हवाय फायर र २ सेल अश्रुग्यास प्रहार गरिएको हो । जानकी मन्दिरको दक्षिणपट्टी रहेको सोनारपट्टीमा संजय ठाकुरले संचालन गरेको ज्वेलर्समा राति ८ बजे विशेष सूचनाको आधारमा सिभिलमा प्रहरी पुगेका थिए । ज्वेलर्सबाट बिल विजक नभएको अन्दाजी ७ किलो चाँदी बरामद गरिएको छ । प्रहरी टोली जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी डिएसपी गणेशबहादुर  बमकै कमाण्डमा पुगेको थियो । उनी अहिले जिल्ला प्रहरी कार्यालय धनुषाका कार्यवाहक प्रमुखसमेत हुन् ।

धनुषाका एसपी नरहरी रेग्मीको सरुवा भएको छ । उनी बिहीबार नै हिँडिसकेका छन् । डिएसपी बम पनि धनुषामा सरुवा भएर आएको चार दिन मात्र भएको छ । डिएसपीका अनुसार ७ किलो चाँदी बरामद सुनचाँदी व्यवसायी संघका नेतृत्वलाई समेत बोलाएर मुचुल्का गर्न खोजेपछि जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी पुगे । उनले लैजान नदिने अडान कसे । उनीसहित व्यवसायीहरु प्रहरीमाथि आक्रमण गरेपछि झडप भएको प्रहरीको भनाइ छ ।

प्रहरीले धनतेरशको पूर्वसन्ध्यामा आतंक सिर्जना गरेकाले उनीहरुलाई कारबाही नभए उद्योग वाणिज्य संघ कडा आन्दोलनमा जाने चेतावनी दिइएको छ ।

छापा मार्न पुगेका प्रहरी भने अन्य निकायसँग समन्वय भने गरेको छैन । धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले छापामारेको विषयमा औपचारिक रुपमा प्रहरीले जानकारी नगराए गरेको बताएका छन् । डिएसपी बलमे भने राजश्व अनुसन्धान विभाग पथलैयाबाट समन्वय गरेपछि मात्र छापा मार्न पुगेको बताएका छन् ।