झापा ।
‘सरकारी दरमै निजीमा सुविधा’ भन्ने नाराका साथ निर्माणाधीन भृकुटी अस्पतालले मंसीर अन्तिम साताबाट सेवा सञ्चालन गर्ने भएको छ । आम नागरिकलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ चार वर्षअघिबाट अस्पतालको भौतिक संरचना निर्माण कार्य सुरु भएको थियो । कोभिड–१९ का कारण निर्धारित समयमा निर्माण कार्य नसकिएले सञ्चालनमा केही ढिलाई भएको बताउँदै अस्पताल सञ्चालकहरुले भने, ‘अहिले निर्माण कार्य अन्तिम चरणमा पुगेको छ, मंसीर अन्तिमबाट सेवा सुरु हुन्छ ।’
झापाको कमल गाउँपालिका–५ पाडाजुङ्गी चोकबाट केही पूर्व ५०० सैय्याको अस्पतालको भौतिक संरचना निर्माण भएको छ । आदिवासी रङ्गशाला दक्षिण राजमार्गसँग जोडिएको तीन बिघा जग्गामा युवा व्यवसायीहरु प्रताप कार्की, बुद्धिमान थापा र नसिम कार्कीले सो अस्पताल सञ्चालन गर्न लागेका हुन् ।
पछिल्लो समय झापा अस्पतालको हब बन्दै गए पनि झापाको मध्य भागमा अस्पताल नभएका कारण आफूहरूले सो क्षेत्रमा स्वास्थ्य सेवा दिने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याउन लागेको सञ्चालकहरू बताउँछन् । अस्पताल सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको बताउँदै सञ्चालक बुद्धिमान थापाले भने, ‘प्रारम्भिक चरणमा सय सैय्याबाट सुरु हुन्छ, मापदण्ड अनुसार बिस्तार गरेर ५०० सैय्या पु¥याउँछौं ।’

व्यवसायसँगै समाजसेवामा सक्रिय थापा स्वास्थ्य सेवा नागरिकको नैसर्गिक अधिकार भएको बताउँदै भन्छन्, ‘झापाको यो मध्यभागमा सुविधा सम्पन्न अस्पतालको आवश्यकता खड्किएपछि हामी यो अभियानमा जुटेका हौँ । प्रस्तावित भृकुटी अस्पतालबाट झापा लगायत इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, मोरङ लगायत जिल्लाका नागरिक लाभान्वित हुनेछन् ।
रवि–चिसापानी सडक खण्ड पूर्णरुपमा सञ्चालनमा आएपछि पहाडी जिल्लाका नागरिकलाई दूरीका हिसाबले बिर्तामोडभन्दा पाडाजुङ्गी सहज र सरल हुने अध्यक्ष थापाको कथन छ ।
स्वास्थ्य उपचारको पवित्र उद्देश्य लिएर स्थापित भृकुटी अस्पताललाई थोरै खर्चमा राम्रो उपचार दिने अस्पतालको रुपमा स्थापित गर्न सरकारले तोकेका सबै मापदण्ड पूरा गरिएको सञ्चालक प्रताप कार्कीले बताए । ‘सेवा प्रवाहमा हाम्रो कुनै सम्झौता हुँदैन’, उनले भने, ‘अस्पतालको प्रयोगशालामा अत्याधुनिक प्रविधि हुने भएकाले सबै किसिमका स्वास्थ्य परीक्षणका लागि अन्यत्र जानु नपर्ने वातावरण सिर्जना गर्ने हाम्रो लक्ष्य छ ।’
अस्पतालबाट ओपीडी सेवा, भित्री बिरामी सेवा, चौबिसै घण्टा आकस्मिक सेवा, प्रयोगशाला सेवा, रेडियोलोजी सेवा, फार्मेसी, एम्बुलेन्स र शल्यक्रिया लगायतका सेवा प्रदान गरिने उनले बताए ।
अस्पतालमा फिजियो थेरापी, युरोलोजी, अर्थोपेडिक्स, न्युरोलोजी, मेटरनिटी÷ नियोनेटल÷ पिडियाट्रिक्स, गाइनोकोलोजी, जेनेरल सर्जरी, ग्यास्ट्रोइन्ट्रोलोजी, क्याजुलटी, कार्डियोलोजी, हेमाटोलोजी, नाक, कान, घाँटी, क्रिटिकल केयर, मेडिसिन, डरमाटोलोजी, साइकेट्रिक, डेन्टल, अफ्थाल्मोजोली, नेफ्रोलोजी लगायतका सेवासँगै एचडीयू, पीआइसीयू, एनआइसीयू सेवा पनि उपलब्ध हुनेछन् ।
स्वास्थ्य सेवा पाउनु नागरिकको नैसर्गिक अधिकार हो भन्ने कुरालाई मनन गर्दै सञ्चालनमा आउन लागेको यो अस्पताललाई पूर्वकै सबैभन्दा भरपर्दो बनाउने आफूहरूको योजना रहेको कार्कीले बताए ।
अस्पतालको भौतिक संरचना निर्माणमा पूर्णरूपमा मापदण्ड पुरा गरिएको बताउँदै उनले भने, ‘एक तलामा करिब ३०० जना भन्दा बढी बिरामी अटाउने गरी हामीले संरचना निर्माण गरेका छौं । अस्पतालको संरचना पूर्णरूपमा बिरामी मैत्री छ ।’
आफूहरूले पूर्वमै अत्याधुनिक मेसिन÷उपकरण जडान गरिसकेको बताउँदै उनले भने, ‘प्राविधिक बाहेकको काम अन्तिम चरणमा पुगेको छ । दक्ष प्राविधिकसँग कुरा भइरहेको छ ।’ अस्पतालले विभिन्न क्षेत्रमा ४ सय १० जना कर्मचारी माग गरेको छ । प्राविधिक बाहेक स्थानीयलाई विशेष प्राथमिकता दिइने बताउँदै उनले भने, ‘स्थानीय युवाहरूलाई पहिलो प्राथमिकतामा राखेका छौं, इच्छुकले आवेदन दिन सक्नुहुन्छ ।’
अस्पतालको लक्ष्य नर्सिङ कलेज सञ्चालन गर्ने समेत रहेको उनले बताए । उनले भने, ‘अस्पतालसँगै हामी एक वर्षपछि नर्सिङ कलेज सञ्चालन गर्छौं ।’ झापामा बिर्तामोड केन्द्रित स्वास्थ्य सेवा रहेकोमा आफूहरूले माई पश्चिमका नागरिकको समेत स्वास्थ्य सेवाको आवश्यकतालाई मध्यनजर गर्दै झापाको मध्यभागमा सुलभ दरमा गुणस्तरीय स्वास्थ्य सेवा दिने भरपर्दो अस्पतालका रूपमा भृकुटी अस्पताल सञ्चालन गर्न लागेको उनले बताए ।


















