बिर्तामोड ।
नेपालकै सवैभन्दा ठूलो विद्यार्थी व्यालेन्ट हन्ट कार्यक्रम ‘स्टुडेन्ट अफ द इयर नेपाल’ ले पहिलो अडिसनको झापामा गर्ने घोषणा गरेको छ । आयोजक स्टुडेन्ट अफ द इयर राष्ट्रिय समितिले आज (मंगलबार) झापाको बिर्तामोडमा पत्रकार सम्मेलन आयोजना गर्दै पहिलो अडिसन झापामा गर्ने घोषणा गरेको हो ।
देशका ११ शहरमा हुने अडिसन मध्ये पहिलो चरणको अडिसन आगामी मंसीर ६ गते झापाको बिर्तामोडमा हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । विद्यार्थी व्यालेन्ट हन्ट कार्यक्रमका लागि १३ देखि २१ बर्ष समुह अर्थात कक्षा ८ देखि १२ सम्म अध्ययनरत बिद्यार्थीले सहभागीता जनाउन सक्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगीहरुले रेजिष्ट्रेशन शुल्क ९ सय ९९ रुपैयाँ बाहेक कुनै शुल्क नलाग्ने बताइएको छ । अनुमानित एक करोड खर्च हुने उक्त प्रतियोगिताको बिजेताले नगद ५ लाखसहित ट्रफी प्राप्त गर्ने साथै बिभिन्न अवसरहरु प्राप्त हुने आयोजक समितिले जनाएको छ । टप ४० देखि भने भोटिङ राउण्ड शुरु हुने पनि बताइएको छ ।

कार्यक्रम होस्टका रुपमा लोकप्रिय इन्फ्लुएन्सर इभा गिरीले ऊर्जावान उपस्थितिसहित कार्यक्रममा नयाँ जोश र आकर्षण थपिन् । उनले स्टुडेन्ट अफ द इयरलाई नेपालका विद्यार्थीहरुको सपनासँग जोड्ने एउटा राष्ट्रिय मञ्चका रूपमा प्रस्तुत गरिन् ।
उनीसँगै निर्णायकका रूपमा देशका युवा वैज्ञानिक आरिफ अली पनि उपस्थित रहने छन् । पत्रकार सम्मेलनमा उनले विद्यार्थीहरूको प्रतिभालाई विज्ञान र सिर्जनशीलताको दृष्टिकोणबाट मूल्याङ्कन गरिने जानकारी गराए । साथै पत्रकार सम्मेलनमा स्टुडेन्ट अफ द इयर राष्ट्रिय समितिका सदस्यहरु, विद्यालय प्रतिनिधिलगायतको सहभागीता रहेको थियो ।
कार्यक्रमको उद्देश्य नेपाल भरिका विद्यार्थीहरुमा लुकेका प्रतिभा खोजी गर्नु, तिनीहरुलाई राष्ट्रिय स्तरमा परिचित गराउनु र उनीहरुको आत्मविश्वास तथा सिर्जनात्मक क्षमतालाई उजागर गर्नु रहेको आयोजकले जनाएको छ ।
कार्यक्रमका संयोजक असविन तिम्सिनाले स्टुडेन्ट अफ द इयर केवल प्रतिस्पर्धा नभएर नेपालका विद्यार्थीहरुको सम्भावनालाई विश्वसामु देखाउने एउटा राष्ट्रिय अभियान भएको बताएका छन् । पत्रकार सम्मेलनमा कार्यक्रमको दृष्टिकोण, अडिसन तालिका र भविष्यका योजनाबारे विस्तृत जानकारी गराइएको थियो ।


















