चारपाने ।
जाडो मौसममा तराईका शहर बजारका चोक तथा गल्लि–गल्लिमा पाइने भाक्का पहिल्लो समय सवै समुदायको लोकप्रिय खाजा बन्दै गएको छ । झापाको बिर्तामोड, चारपाने, लक्ष्मीपुर, काँकरभिट्टा, धुलावारी, दुर्गापुर, दमकलगायतका शहर बजारका चोक र गल्लि–गल्लिमा जाँडो मौसम शुरुसँगै बिहान भाक्का बेच्ने र खानेको भीड लाग्ने गरेको छ ।
भाक्का कोच राजवंशी समुदायको खाजामा लोकप्रिय हिउँदे भाक्का चामलको पिठोबाट तयार गरिने परिकार हो । पछिल्लो समय कोच राजवंशी समुदायसँगै अन्य जातजातिमा पनि यो खाजा लोकप्रिय बन्दै गएको छ ।
शुद्ध चामलको पीठोलाई पानीको बाफमा पकाएर भाक्का बनाउने गरिन्छ । पीठोको चामलमा कुनै बस्तु मिसाउट नहुने तथा पानीको बाफमा मात्र पकाउने गरेकाले भाक्का पूर्ण अर्गानिक र स्वास्थ्यकर खाजाका रुपमा लिइने गरिन्छ ।
बिर्तामोड–२ बालुवाटारकी करिव ६० बर्षीया बुनुदेवी राजवंशी ४० बर्षदेखि जाडो मौसममा भाक्का बेचिरहेकी छिन् । पहिले दुर्गापुरमा जाडो मौसमको बिहानको समयमा भाक्का बेच्दै आएकी बुनुदेवी हाल चारपाने चोकमा बेचिरहेकी बताउछिन् ।
उनी ५ देखि ६ केजी चामलको पिठो भाक्का बेच्ने बताउछिन् । उक्त बिक्रीबाट दैनिक ५ देखि ६ सयसम्म रुपैयाँ कमाई हुने गरेको बताउछिन् । उनी दैनिक बिहान ४ बजेदेखि ७ बजेसम्म चारपाने चोकमा भाक्का बेच्ने गर्छिन् । तीन छोरा मध्ये एक छोरा हराएको बताउने बुनुदेवीले दुई जना नातीनी र श्रीमान गणेश राजवंशीका साथमा बस्दै आएकी छिन् । उनलाई भाक्का बेच्न उनका श्रीमान गणेशले पनि साथ दिने गरेको उनको भनाई छ । बुनुदेवीका अनुसार एउटा भाक्काको मूल्य ५० पैसा हुँदादेखि बेच्दै आएकी हुन् । केही अधिया खेती गर्दै आएका राजवंशी दम्पत्तीले जाडो मौसम शुरु अर्थात असाजे १५÷२० गतेदेखि फागुन १५÷२० गतेसम्म भाक्का बेच्ने गरेका छन् ।
पूर्वी तराईका आदिवासीहरुले स्थानीय उत्पादन प्रवद्र्धन तथा मौलिक खाजा भक्काको संरक्षणका लागि हरेक वर्ष भाक्का दिवस पनि मनाउँदै आएका छन् । केही वर्ष अघिसम्म कोच राजवंशी समुदायले बनाउने र रुचाउने भक्का पछिल्लो समय धेरैको रोजाइमा पर्दै गएको छ । भक्काको उत्पादन र उपभोगमा वृद्धि हुँदै गएपछि झापामा राष्ट्रिय भक्का दिवस नै मनाउन थालिएको हो ।


















