हल्दीवारी ।
हल्दीबारी गाउँपालिकामा रहेको सिटिजन्स बैंक हल्दिबारी शाखाले सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै आज श्री पञ्चायत माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरेको छ। शिक्षामा पहुँच र बालमैत्री वातावरण सुदृढ गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम स्थानीयस्तरमै प्रशंसनीय बनेको छ।
कार्यक्रमका प्रमुख अतिथि हल्दिबारी वडा नं–३ की वडा सदस्य तथा विद्यालय व्यवस्थापन समिति सदस्य बिष्णु माया तिम्सिना ढुङ्गेलले ब्यानर वाचनमार्फत कार्यक्रमको उद्घाटन गर्दै शिक्षामा लगानी नै दीर्घकालीन सामाजिक विकासको आधार भएको उल्लेख गरे । उनले सिटिजन्स बैंकले बैंकिङ सेवासँगै सामाजिक दायित्वलाई समान महत्व दिँदै निरन्तर सकारात्मक भूमिका खेलेकोमा धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा वडा सदस्य कर्ण भण्डारी, सिटिजन्स बैंक हल्दिबारी शाखाका प्रबन्धक भोला शंकर, वडा सचिव राजन खतिवडा, विद्यालय व्यवस्थापन समितिका सदस्य पूर्ण आङ्ग्वो, ढडुवा युवा क्लबका अध्यक्ष कुल बहादुर न्यौपाने, बैंकका कर्मचारी, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
विद्यालयका शिक्षक रमेश भण्डारीले स्वागत मन्तव्य राख्दै बैंक र विद्यालयबीचको सहकार्यले विद्यार्थीहरूमा उत्साह र आत्मविश्वास बढ्ने विश्वास व्यक्त गरे। कार्यक्रममा अतिथिहरूले विद्यार्थीहरूलाई स्कुल ब्याग हस्तान्तरण गर्दै निरन्तर अध्ययन, अनुशासन र सफल भविष्यका लागि शुभकामना प्रदान गरे ।
कार्यक्रमको सञ्चालन तर्फ विद्यालयका प्रधानाध्यापक डिल्लीराम ढुङ्गेलले शिक्षाको क्षेत्रमा एक अर्काको सहयोग र सहभागिता अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै सिटिजन्स बैंक हल्दिबारी शाखाप्रति हार्दिक धन्यवाद तथा आभार प्रकट गरेका थिए ।
शिक्षक–अभिभावक संघका अध्यक्ष गणेश भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन तथा सहजीकरण विद्यालयका लेखापाल अभिषेक खतिवडाले गरेका थिए । स्थानीय समुदाय, बैंक र विद्यालयबीचको सहकार्यले शिक्षाको गुणस्तर अभिवृद्धिमा थप ऊर्जा थप्ने विश्वास गरिएको छ।


















