बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिका–४ मा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको २५ औं वार्षिक साधारण सभा अन्तरगत अन्तिम माइन्युट प्रमाणिकरण भेला आज सम्पन्न भएको छ ।
संस्थाले सात वटा एकाइगत साधारण सभा सम्पन्न गरी आज अन्तिम माइन्युट प्रमाणिकरणसहित २६ औं वार्षिक उत्सव तथा रजत महोत्सव सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका ज्येष्ठ प्रारम्भिक सदस्य जयबहादुर गौतमको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा संस्थाका सात जना सदस्यलाई उपचार खर्च वापत २ लाख ८ सय रुपैयाँ प्रदान गरिएको छ । संस्थाका सदस्य कल्पना सुब्बा, कुन्ता चापागाईं, सम्झना लिम्बू, रञ्जिता लिम्बू, संगीता गुरुङ, आशा चौधरी र शेरबहादुर भट्टराईलाई उपचार खर्च वापत उक्त रकम प्रदान गरिएको संस्थाका कार्यकारी प्रमुख कुमार याक्सोले जानकारी दिए ।
संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै संस्थाको प्रगतिबारे जानकारी गराएका थिए भने संस्थाका लेखा सुपरिवेक्षण समिति संयोजक मनकुमार बेघाले संस्थामा बेतिथि र विसंगति नरहेको स्पष्ट पारेका थिए ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष महेन्द्रप्रसाद चुँडाल, व्यवस्थापन उपसमिति संयोजक रामचन्द्र सिटौला, एकाइगत साधारण सभामा छनोट भएका प्रतिनिधि हरिराज भट्टराई र बिमला गौतम भट्टराईले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका उपाध्यक्ष रामकुमार गौतमले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव भुपाल बस्नेतले गरेका थिए ।
संस्थामा आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्म ६० हजार ७५० जना शेयर सदस्य रहेका छन् भने शेयर पुँजी ५५ करोड ८५ लाख ३८ हजार, बचत ३ अर्ब ४९ करोड ६८ लाख ४२ हजार ७९९ र कर्जा लगानी ३ अर्ब ८६ करोड ७८ लाख १० हजार ५६३ रुपैयाँ रहेको छ ।
यस्तै, जगेडा कोष १६ करोड ८२ लाख २७ हजार ४७२, स्थिर सम्पत्ति ११ करोड ६ लाख ३७ हजार ३५३ रहेको संस्थाको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख छ । संस्थाले आव २०८१/०८२ मा खुद नाफा चार करोड ८ लाख १४ हजार ५०४ रुपैयाँ गरेको छ । झापा, मोरङ र इलाम कार्यक्षेत्र रहेको कर्णालीले हाल ४१ वटा सेवा केन्द्रमार्फत् सेवा प्रदान गर्दै आएको छ ।


















