बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिका–७ स्थित भुसाबाडीमा रहेको बेल्स मोडल स्कूलमा शैक्षिक प्रदर्शनी कार्यक्रम भएको छ । स्कूलमा आज (बुधवार) कक्षा–४ देखि १० सम्मका विद्यार्थीले पाठ्यक्रमको विषय वस्तुमा आधारित रहेर तयार गरेको प्रयोगात्मक शैक्षिक सामग्रीको प्रदर्शनी गरिएको हो । जस अन्तरगत विज्ञान, गणित, नेपाली र अंग्रेजी विषयका २५० वटा भन्दा बढी प्रयोगात्मक सामग्रीको प्रदर्शनी गरिएको स्कूलले जनाएको छ ।
स्कूलका अध्यक्ष जयकुमार प्रसाईंको अध्यक्षतामा भएको प्रदर्शनी कार्यक्रमको उद्घाटन बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईंले गरेकी थिइन्। विद्यालयका प्रिन्सिपल ताराकुमार प्रसाईंले स्वागतसँगै कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने सञ्चालन स्कूलका भाइस प्रिन्सिपल देवन ढुंगानाले गरेका थिए ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाका उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, बिर्तामोड–७ की वडा सदस्य लक्ष्मी खतिवडा, निशा फाउण्डेशनका संरक्षक विष्णु भेटवाललगायतको आतिथ्य रहेको थियो । उनीहरुले विद्यार्थीहरुले तयार पारेका शैक्षिक सामग्रीको अवलोकन गर्दै प्रशंसा गरेका थिए ।
स्कूलका प्रिन्सिपल प्रसाईंले शैक्षिक प्रयोगात्मक कार्यले विद्यार्थी व्यावहारिक ज्ञानको विकास गर्ने बताए । उनले पुस्तकमा भएको सिकाईलाई वास्तविक जीवनसँग जोड्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताएका छन् ।
प्रर्दशनीमा विद्यार्थीहरुले विज्ञान, गणित, नेपाली र अंग्रेजी विषय अन्तरगत तयार गरेका २५० वटा भन्दा सामग्रीहरु राखिएको थियो । उक्त प्रदर्शनीमा नगरका अन्य १० वटा विद्यालयका विद्यार्थीले अवलोकन गरेका छन् भने आफ्ना बालबालिकाले तयार पारेका सामग्रीहरुको अभिभावकहरुले समेत अवलोकन गरेका थिए ।
कक्षा नर्सरीदेखि १२ सम्म पठनपाठन हुने बेल्स मोडलमा करिब एक हजार तीन सय विद्यार्थी अध्ययन रहेका छन् भने शिक्षक तथा कर्मचारी ७५ जना रहेको भाइस प्रिन्सिपल ढुंगानाले जानकारी दिए।


















