झापा । 

मलेसियाले आगामी वर्ष सन् २०२६ का लागि अपुग कोटाका लागि करिब साढे २ महिनाको समय दिएर विदेशी कामदार कोटाको आवेदन खुला गरेको छ । मलेसियाको गृह मन्त्रालयले यसलाई विशेष आवेदन अवधि घोषणा गरेको छ ।

जसअनुसार आगामी जनवरी १९ देखि मार्च ३१ सम्मको विशेष अवधिमा २०२५ का लागि अपुग भएका विदेशी कामदार कोटाका लागि रोजगारदाताहरूले विशेष ‘विन्डो’मार्फत आवेदन दिन सक्नेछन् । मन्त्रालयले यसअघि घोषणा गरिएको समयसीमा अनुसार डिसेम्बर ३१ सम्म अर्थात् बुधबार पनि आवेदन प्रक्रिया जारी रहने स्पष्ट पारेको छ ।

मलेसिया सरकारले गत अक्टोबर १ तारिकमा थोक र खुद्रा व्यापार, गोदाम, सुरक्षा सेवाहरू स्क्र्याप, मेटल, रेस्टुरेन्टहरू, कार्गो ह्यान्डलिङ, केलिनिङ, एग्रिकल्चर, प्लान्टेसन, खानी क्षेत्रमा विदेशी कामदारको एप्रुभल खुला गरेको थियो । नेपालीको प्रमुख चासो रहेको म्यानुफ्याक्चरिङको माग भने खुलेको छैन । मन्त्रालयले मंगलबार अर्थात् डिसेम्बर ३० मा एक विज्ञप्ति जारी गर्दै घरेलु व्यापार र जीवनयापन लागत मन्त्रालय अन्तर्गत सेवा क्षेत्रका लागि पहिले छुट्याइएको कोटामा पनि आवेदन दिन सकिने जनाएको छ ।

जनवरी १९ देखि मार्च ३१ सम्म प्राप्त सबै आवेदनहरू सम्बन्धित मन्त्रालयहरूसँग छलफलपछि स्वीकृत गरिने बताइएको छ । मन्त्रालयले रोजगारदाताहरूलाई एजेन्ट वा तेस्रो पक्षको प्रयोग बिना, विदेशी कामदार व्यवस्थापन प्रणाली (एफडब्लुसिएमएस) अर्थात् वन स्टप सेन्टरमार्फत सिधै आवेदनहरू पेस गर्नुपर्ने बताएको छ । विशेष समय अवधिमा प्रक्रियालाई सहज बनाउन रोजगारदाताहरूले जनवरी १६ देखि मन्त्रालयको आधिकारिक वेबसाइटमार्फत अग्रिम एप्वोइन्टमेन्ट लिनुपर्ने छ ।

रोजगारदाताहरूलाई विदेशी कामदारको आवश्यकताहरू पूरा गर्ने र सेवा प्रवाहमा सुधार गर्ने सरकारको प्रतिबद्धता अनुरूप विदेशी कामदारको आवेदनहरू अझ व्यवस्थित र योजनाबद्ध रूपमा पेस गर्न मद्दत गर्ने लक्ष्य राखेको मलेसियाले जनाएको छ ।

२० लाख बढी विदेशी कामदार रहेको मलेसियामा ४ लाख बढी नेपाली वैधानिक रूपमा कार्यरत रहेका छन् । मलेसियाले गत अक्टोबरदेखि मासिक तलबको २ प्रतिशत रकम रोजगारदाताले कर्मचारी सञ्चयकोषमा जम्मा गरिरहेका छन् । मलेसियामा हाल सबै क्षेत्रमा न्यूनतम मासिक तलब १७ सय रिंगेट कार्यान्वयनमा छ ।