झापा ।
वैदेशिक रोजगारीमा रहेका कामदारको राहत र उद्धारमा लापरबाही गरेको निष्कर्षसहित परराष्ट्र मन्त्रालयले संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासमा कार्यरत काउन्सेलर श्रम (उपसचिव) दीपेन्द्र पौडेललाई फिर्ता बोलाएको छ । शनिबार नै स्वदेश फर्काइएका पौडेलको जिम्मेवारी पनि खोसिएको छ ।
विभिन्न कारणले अलपत्र परेका तथा तलब सुविधा नपाएको उजुरी गरेका नेपाली कामदारको राहत, उद्धार र क्षतिपूर्ति दिलाउने विषयमा पौडेलले लापरबाही गरेको युएईस्थित नेपाली दूतावासको आन्तरिक छानबिनले देखाएपछि उनलाई जिम्मेवारीबाट हटाएर फिर्ता बोलाइएको परराष्ट्र स्रोतले जनाएको छ ।
दूतावासका उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरी छानबिन गर्दा पौडेलले कन्सुलर सेवासँग सम्बन्धित कार्यमा गम्भीर लापरबाही र त्रुटि गरेको पाइएको बताइएको छ । पौडेल गत वर्ष कात्तिक ११ गते २ वर्ष कार्यकालका लागि नियुक्त भएका थिए ।
कार्यक्षेत्रमा खटिनुअघि काउन्सेलर श्रम र श्रम सहचारीलाई देश र श्रमिकको हितका काममा बढी ध्यान दिन अभिमुखीकरण र निर्देशन हुने गरेको छ । तर, श्रम गन्तव्य मुलुकमा खटिएका केही काउन्सेलर श्रम र श्रम सहचारीमाथि श्रमिकका गुनासा सम्बोधन गर्नुभन्दा नेपालका निश्चित म्यानपावर कम्पनीको प्रभावमा लागेर मागपत्र प्रमाणीकरणमा हेराफेरी गर्ने र श्रमिकको समस्यामा ध्यान नदिने गरेको गुनासो छ ।


















