शनिश्चरे ।
झापा अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः प्रत्युस आजाद राना चयन भएका छन् । सहकारीको आज (बुधवार) शनिश्चरेस्थित कार्यालयमा भएको चौथो बार्षिक साधारणसभाले पुनः अध्यक्षमा रानालाई सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा खेमबहादुर काफ्ले, सदस्यमा देवकला प्रसाईं, रमा खवास, डम्बर घिमिरे, अम्बिका फुयल, टंक बराल, राधाकृष्ण दाहाल(राजु) र दीपक दुलाल चयन भएका छन् ।
त्यस्तै लेखा सुपरिवेक्षक समितिको संयोजकमा एकदेब खनाल सदस्यमा सीता बस्नेत सापकोटा र दुर्गाप्रसाद पौडेल चयन भएका छन् । सहकारीको बन्दसत्रले नयाँ नेतृत्व चयन गरेको हो । संस्थाका अध्यक्ष रानाको अध्यक्षतामा भएको बार्षिको साधारणसभामा अर्जुनधारा नगरपालिका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा सहकारी स्थापनामा महत्वपूर्ण भुमिका खेलेको भन्दै रुद्रमणि श्रेष्ठ, टसबहादुर श्रेष्ठ, पदमलाल राई, राजेन्द्र खरेल, उमा थापा, अर्जुन पौडेल र टंकबहादुर पौडेललाई सम्मान गरिएको छ । यस्तै उत्कृष्ट किसानका रुपमा शिवशंकर यादव र राधिका राउत र संस्थामा उच्च योगदान पुर्याउने राजेन्द्रप्रसाद निरौलालाई पनि सम्मान गरिएको थियो ।
स्वागत संस्थाकी सदस्य देवकला प्रसाईले गरेको कार्यक्रममा प्रमुख अतिथि गोम्देनले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सदस्य पदमलाल राईले गरेका थिए । संस्थाका अध्यक्ष रानाले संस्थाको प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको प्रतिवेदन अनुसार संस्थामा एक हजार २०६ जना शेयर सदस्य छन् भने ४४ लाख ११ हजार ९०० रुपैयाँ शेयरपुँजी रहेको छ । लेखा सुपरिवेक्षण समितिका सदस्य बिनोद आचार्यले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीले कृषि तथा पशुपंक्षी जन्य उत्पादन, ब्यवस्थापन र बजारीकरण साथै पूर्वाधार निर्माण गरेर कृषकहरुलाई बिउबिजन सहज र सरल रुपमा उपलब्ध गराउँदै आएको छ ।


















