झापा । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तत्काल आक्रमणको कार्यक्रम नरहेको बताएका छन् । अमेरिकी आक्रमण र सम्भावित इरानी प्रतिशोधले खाडी मुलुकमा ठुलो संख्यामा रहेका नेपाली कामदारको सुरक्षा र रोजगारीमा चिन्ता बढाएको थियो ।

इरानले आफ्नो आकाशमा बिहीबार केही समय उडान रोकेपछि खाडी मुलुक उडान भर्ने एयर इन्डियालगायतका उडान प्रभावित भएका थिए । इरानी संसद्का सभामुखले अमेरिकाले आक्रमण गरे इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य तथा जलमार्गहरूलाई निसाना बनाउने चेतावनी दिएका छन् ।

इरानमा मूल्यवृद्धि र देशको मुद्राको अवमूल्यनपछि भएको विरोध प्रदर्शनबाट हालसम्म २ हजार ४ सय बढी प्रदर्शनकारीको मृत्यु भएको छ भने १८ हजार ५ सय बढी पक्राउ परेका छन् । पक्राउ परेकामध्ये केहीलाई इरानले फाँसी दिने चर्चा चलेपछि दबाब स्वरुप अमेरिकाले आक्रमणको धम्की दिएको थियो ।

बुधबार कतारमा रहेको मध्यपूर्वको सबैभन्दा ठुलो अमेरिकी सैनिक अखडा अल उदेइद एयरबेसमा ठुलो संख्यामा रहेका अमेरिकी सैनिकलाई स्टेसन छोड्न भनिएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथि आक्रमण गर्ने वा नगर्ने भन्ने बारेमा अझै पनि सोचिरहेको कतारी सञ्चारमाध्यम अलजजिराले उल्लेख गरेको छ ।  

नेपालको परराष्ट्र मन्त्रालयले इरानमा रहेका नेपाली नागरिकहरूलाई सुरक्षाका लागि जारी हुने निर्देशन पालना गर्न, घरभित्रै बस्न, सतर्क रहन सुझाव दिएको छ । यस्तै मन्त्रालयले स्थिति सामान्य नभएसम्म इरानको यात्रा नगर्न पनि सबै नेपाली नागरिकसमक्ष आग्रह गरेको छ । कतारका बारेमा भने केही बोलिएको छैन । दोहास्थित अमेरिकी दूतावासले आफ्ना कर्मचारीलाई अझ सतर्क रहन र अल–अदेद शिविरतिर सकेसम्म नजान सुझाव दिएको छ ।