धुलाबारी । 

नेपाल तामाङ घेदुङ मेचीनगरको आयोजनामा धुलाबारीमा बृहद साँस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भएको छ । मन्जुश्री सम्वत २८६२ महान राष्ट्रिय पर्व ताल्हो (घोडा वर्ग सोनाम ल्होछार) अवसरमा आयोजित कार्यक्रममा तामाङ समुदायहरुले एकआपसमा शुभकामना साटासाट गरेर पर्व मनाएका हुन् ।

‘नेपाल राष्ट्रिय शान, हाम्रो भाषा संस्कृति हाम्रो पहिचान’ भन्ने नाराका साथ तामाङ तथा अन्य समुदायका मानिसहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रमको उद्घाटन प्रदेश सांसद गोपाल तामाङले गरेका थिए ।

उनले बन्न लागेको तामाङ सांस्कृतिक संग्रहालय भवनका लागि १० लाख रुपैयाँ प्रदेश सरकारले छुटाएको जानकारी दिए । प्रदेश सांसद तामाङले आगामी वर्ष पनि थप सहयोग गर्न आफु प्रतिबद्ध रहेको उद्घोष गरे । 

कार्यक्रममा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी, अर्जुनधारा नगरप्रमुख बलदेव गोम्देनले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल तामाङ घेदुङ झापाका अध्यक्ष जगतबहादुर तामाङ लगायत अन्य प्रतिष्ठित व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।

नेपाल तामाङ घेदुङकी पूर्व केन्द्रीय सदस्य बीना तामाङले स्वागत गरेको कार्यक्रमको सञ्चालन सुनिता तामाङले गरेकी थिइन् ।  सोही अवसरमा राष्ट्रिय कलाकार आसमान लोप्चन लगायत स्थानीय कलाकारहरुले तामाङ जातिका गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा जातीय कला संस्कृतिको प्रदर्शनी तथा विभिन्न परिकारको स्टलहरु राखिनुका साथै तामाङ समुदायका जेष्ठ नागरिकहरुलाई सम्मान समेत गरिएको थियो । 

मेचीनगरसहित अन्य क्षेत्रबाट करिब ५ हजार बढी तामाङ समुदायका मानिसहरुले कार्यक्र स्थलको अवलोकन गरेको आयोजकले जनाएको छ । नेपाल तामाङ घेदुङ मेचीनगर अध्यक्ष भक्तबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा उनले संस्थाले विगतमा गरेको कार्यक्रमहरु तथा आगामी योजनाका बारेमा जानकारी गराए । 

तामाङ घेदुङ मेचीनगरले धुलाबारीस्थित त्रिफला पुस्तकालय पूर्वपट्टि खरिद गरेको ६ कठ्ठा जमिनमा तामाङ सांस्कृतिक संग्रहालय भवन बनाउने लक्ष्य राखेको उनले बताए ।  

संग्रहालय भवन बनाउन करिब ३ करोड रुपैयाँको स्टिमेट समितिले गरेको र त्यसका लागि विभिन्न स्रोतको खोजी गरी सुनिश्चित गर्न अभियान चलाइने मेचीनगर अध्यक्ष भक्तबहादुर तामाङले बताए ।