बिर्तामोड ।
झापाको बिर्तामोड–२ स्थित निदी माध्यमिक विद्यालय होटल मेनेजमेन्टतर्फको विद्यार्थी लिएर शैक्षिक भ्रमणमा गएको बस नवलपरासीमा दुर्घटना भएको छ । भ्रमण सकेर फर्कने क्रममा भएको बस दुर्घटनामा परि ६ जना विद्यार्थी घाइते भएका छन् ।
माघ २ गतेबाट भ्रमणमा निस्किएको को १ ग ९५४६ नम्बरको बस आज दिउँसो अन्दाजी ३ बजे बुलिङटार गाउँपालिका २ भेलौरीस्थित कालीगण्डकी करीडोरमा ब्रेक फेल भई भित्तामा ठोक्किएर बिच सडकमा पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी निरीक्षक विरेन्द्र गुरुङले जानकारी दिए ।
प्रहरी निरीक्षक गुरुङका अनुसार दुर्घटनामा परि बिर्तामोड ८ बस्ने १८ बर्षीया उन्नती पाठक, १८ बर्षीय अनिल जैसवाल, १८ बर्षीय अंकित सिटौला, गगन मेचे, साङ्नुमा लिम्बू र पवित्रा गुरुङ घाइते भएका छन् । घाइतेहरुमध्ये उन्नती पाठकको अवस्था मध्यम रहेको र अन्यको अवस्था सामान्य रहेको र उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


















