झापा ।
नेपाल र साउदी अरेबियाबीच श्रम समझदारी भएको छ । एक दशकको प्रयासपछि नेपाल र साउदी अरेबियाबीच श्रम सम्झौता भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी र साउदी अरेबियाका श्रममन्त्री अहमद विन सुलेमान अल–राजहीले रियादमा आइतबार साँझ हस्ताक्षर गरेको साउदीको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।
मन्त्री भण्डारी आइतबार साँझमात्रै रियाद पुगेका थिए । नेपाल र साउदीबीच घरेलु कामदार तथा जनरल वर्कर्स गरी दुई वटा समझदारी पत्रमा हस्ताक्षर गर्ने विषयमा लामो समयदेखि छलफल भएपनि जनरल वर्कर्सका बारेमा मात्रै समझदारी पत्रमा हस्ताक्षर भएको छ । हस्ताक्षरपछि अब साउदी अरेबिया जाने नयाँसँगै त्यहाँ कार्यरत चार लाखभन्दा बढी नेपाली कामदारको कानुनी अधिकार सुनिश्चित भएको छ ।
साउदी नेपाली कामदारको प्रमुख श्रम गन्तव्य मुलुकमा रहँदै आएको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत वर्ष १ लाख ५२ हजार ५ सय ५७ जना साउदी गएका थिए भने त्यसभन्दा अघिल्लो वर्ष पनि १ लाख ४१ हजार ५ सय २ जना नेपाली रोजगारीका लागि साउदी गएका थिए । समझदारी पत्रले नेपाली दक्ष कामदारलाई प्राथमिकता दिँदै न्यूनतम तलब, बिमा, मेडिकल सुविधा र सामाजिक सुरक्षा सुनिश्चित गरेको अधिकारीहरूले बताएका छन् ।
साउदी भिजन २०३० अगाडि बढाएको र सन् २०३४ मा हुने फिफा विश्वकप फुटबललाई ध्यानमा राख्दै साउदीले ठुलो मात्रामा विदेशी कामदार लैजाने योजना यसअघि नै सार्वजनिक गरेको छ । विगतमा कफाला प्रणालीको प्रयोग गर्दै आएको साउदीले २०२१ मा उक्त प्रणालीमा सुधार गरी न्यूनतम तलब रोजगारदाता परिवर्तन तथा सेवा सुविधामा समेत सुधार गरेको बताएको छ ।
नेपाल र साउदीबीच १२ मार्च १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । कूटनीतिक सम्बन्ध स्थापनापछि नेपालले १९७८ मा साउदीमा र साउदीले २०१२ मा नेपालको काठमाडौंमा आफ्नो दूतावास खोलेका थिए । साउदीले नेपालमा दूतावास खोलेपछि उक्त मुलुकमा रोजगारीमा नेपाली कामदारहरू र नेपाली हज यात्रीहरूको भिसा प्रक्रिया र अन्य कार्य गर्नका लागि सहज भएको छ ।


















