हल्दीबारी ।
- अभिषेक खतिवडा
जाडोयाममा हल्दीबारी गाउँपालिकाका सयौँ विद्यार्थीले न्यानो कपडासँगै आशा र आत्मविश्वास पाएका छन्। गोदावारी एल्मुनाई एसोसिएसनको पहलमा हल्दीबारी गाउँपालिका वडा नम्बर ३ अन्तर्गतका तीन सामुदायिक विद्यालयमा विद्यार्थी पोशाक वितरण गरिएको हो।
लक्ष्मी माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा श्री पञ्चायत माध्यमिक विद्यालय, श्री लक्ष्मी माध्यमिक विद्यालय र दिपेन्द्र आधारभूत विद्यालयका गरी ४२५ जना विद्यार्थी पोशाकबाट लाभान्वित भएका छन्। पाँच लाख रुपैयाँभन्दा बढीको लागतमा वितरण गरिएको न्यानो पोशाकले विद्यार्थीलाई जाडोबाट जोगाउनुका साथै विद्यालय उपस्थितिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
कार्यक्रम लक्ष्मी माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णु तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो। गोदावारी एल्मुनाई एसोसिएसनका अध्यक्ष प्रकाश बाबु केसीले शिक्षा क्षेत्रमा योगदान गर्नु संस्थाको सामाजिक उत्तरदायित्व भएको उल्लेख गर्दै ‘विद्यार्थीको आवश्यकतामा साथ दिनु नै दीर्घकालीन लगानी हो’ भन्ने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाका कार्यकारी सदस्यहरू निर्मल कृष्ण श्रेष्ठ, सिकन्दर सिंह थापा, आयुष श्रेष्ठ, आयुष अधिकारी र विनोद दाहाल, लक्ष्मी माध्यमिक विद्यालय शिक्षक–अभिभावक संघकी अध्यक्ष सुनिता महतो, स्थानीय जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रमुख अतिथि तथा वडा नम्बर ३ का वडाध्यक्ष विष्णुप्रसाद ओलीले यस्ता सहयोगले सामुदायिक विद्यालयप्रतिको विश्वास मजबुत बनाउने बताउँदै गोदावारी एल्मुनाई एसोसिएसनप्रति आभार व्यक्त गरे। उनले सोही अवसरमा हल्दीबारी गाउँपालिकामा सञ्चालन भइरहेको हात्तीपाइले रोग निवारण अभियानमा सक्रिय सहभागी हुन सबै नागरिकलाई आह्वान गरेका छन् ।
विद्यालयको तर्फबाट मन्तव्य राख्दै लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक रामप्रसाद घिमिरेले आर्थिक तथा पारिवारिक कारणले विद्यार्थी नियमित विद्यालय आउन नसक्ने अवस्थाको चर्चा गर्दै पोशाक वितरणले विद्यार्थीको मनोबल बढाउने र विद्यालय उपस्थितिलाई सुदृढ बनाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा श्री पञ्चायत माध्यमिक विद्यालयलाई १२० सेट, दिपेन्द्र आधारभूत विद्यालयलाई १०० सेट र लक्ष्मी माध्यमिक विद्यालयलाई २०५ सेट पोशाक हस्तान्तरण गरिएको थियो। सहयोगी संस्थालाई तीनवटै विद्यालयले मायाको चिनो, प्रमाणपत्र तथा दोसल्ला ओढाएर सम्मान व्यक्त गरेका थिए।
कार्यक्रमलाई जीवन्त बनाउँदै दिपेन्द्र आधारभूत विद्यालयका विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए भने लक्ष्मी माध्यमिक विद्यालयकी छात्रा सुशीला हस्तको गायनले उपस्थितलाई भावुक बनाएको थियो। प्रस्तुति दिने विद्यार्थीहरूलाई शिक्षक किशोर ओली तथा संस्थाका प्रतिनिधिहरूले पुरस्कार प्रदान गरेका थिए।
कार्यक्रममा शुभकामना मन्तव्य डिल्लीराम ढुङ्गेल र अर्जुन भट्टराईले राख्नुभएको थियो भने स्वागत मन्तव्य लक्ष्मी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक मदन पोख्रेलले व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण शिक्षक बोधकृष्ण पौडेलले गर्नुभएको थियो।


















