झापा । 

नेपाल सरकार र साउदी अरब सरकारबीच द्विपक्षीय श्रम सम्झौता भएको छ । आइतबार राति साउदी अरबको राजधानी रियादमा आयोजित एक कार्यक्रममा नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारी तथा साउदी अरब सरकारका तर्फबाट मानव संशाधन तथा सामाजिक विकास मन्त्री अहमद बिन सुलेमान अलराजीले उक्त सम्झौतामा  हस्ताक्षर गरेका थिए। 

नेपाल र साउदी अरेबियाबीच १२ मार्च  १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसबेलादेखि नै नेपाली कामदार वैदेशिक रोजगारीमा जाने गरेको भएपनि आइतबार मात्रै श्रम सम्झौतामा हस्ताक्षर भएको हो । साउदी अरेबियाले घरेलु कामदारको विषयमा पनि सम्झौता गर्ने प्रयास गरेको भएपनि यसपटक नेपाल सरकार र साउदी अरब सरकारबीच जनरल अर्थात् सार्वजनिक क्षेत्रमा काम गर्ने  श्रमिक भर्ना सम्बन्धी सम्झौता भएको हो ।

सम्झौताले साधारण श्रमिक (जनरल वर्कर्स) को सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्धन गर्ने नेपाली अधिकारीहरूको भनाइ छ ।

सम्झौतामा हस्ताक्षर हुनुअघि दुबै देशका श्रम मन्त्रीहरूबीच द्विपक्षीय बैठक सम्पन्न भएको थियो । नेपाली प्रतिनिधिमण्डलाको नेतृत्व गरेका मन्त्री भण्डारीले उक्त सम्झौताले नेपाल–साउदी अरबबीचको श्रम सहकार्यलाई थप संस्थागत, पारदर्शी र सुदृढ बनाउने विश्वास व्यक्त गरे । साथै सम्झौताले नेपाली साधारण श्रमिकहरूको भर्ती प्रक्रियालाई न्यायोचित, पारदर्शी तथा लागत–प्रभावकारी बनाउने महत्वपूर्ण दस्तावेजका रूपमा कार्य गर्ने धारणा पनि राखे ।