झापा ।
न्यूनतम तलबसहित मलेसियन मुद्रा र अमेरिकी डलरको वृद्धिले मलेसियामा काम गर्ने नेपालीको तलब अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतभन्दा बढीले बढेको छ । गत वर्ष जनवरीसम्म मासिक न्यूनतम १५ सय रिंगेट कमाउने नेपाली कामदारले त्यतिबेला करिब ४५ हजार रुपैयाँ पाउँथे भने हाल न्यूनतम ६३ हजार २ सय रुपैयाँ हात पारिरहेका छन् ।
गत वर्ष फेब्रुअरीदेखि नै मलेसियामा काम गर्ने स्वदेशी तथा विदेशी सबै कामदारको न्यूनतम तलब २ सय रिंगेट बढेर १७ सय रिंगेट भएको थियो । त्यतिबेला एक मलेसियन रिंगेटको ३० रुपैयाँ हाराहारीमा रहेको सटहीदर मंगलबार ३७ रुपैयाँ १७ पैसा पुगेको छ ।
दक्षिणपूर्वी एसियामा रिंगेट यतिबेला सबैभन्दा बलियो मुद्राको रूपमा अगाडि देखिएको छ । मलेसियन अर्थतन्त्रले गरिरहेको तीव्र प्रगतिले यस वर्षको अन्त्यसम्म १ मलेसियन रिंगेटको सटहीदर ४० रुपैयाँ पुग्ने कतिपयको विश्लेषण रहेको छ ।
मलेसियन रिंगेटको सटही तीन मात्रै बढेमा त्यो नेपाली मुद्राको तुलनामा ८ प्रतिशत बढीको वृद्धि हुन जाने छ । तलबमा भएको वृद्धिसँगै मलेसियन रिंगेटको सवलता र अमेरिकी डलरमा पनि भएको मूल्य वृद्धिले यतिबेला मलेसियामा कार्यरत नेपाली कामदारका लागि दुवै हातमा लड्डु जस्तो देखिएको छ ।


















