धुलाबारी। 

ग्लोबल म्याथ डिबेट ल्याङ्वेज नेपाल च्याप्टरको आयोजनामा प्रयोगात्मक गणितीय प्रतिस्पर्धा भएको छ । ब्रेनवेभ सर्कल मेचीनगरको संयोजनमा धुलाबारीमा सम्पन्न प्रतियोगितामा मेचीनगर, अर्जुनधारा तथा विराटनगरका विद्यार्थीहरुबीच प्रतिस्पर्धा गराइएको थियो । ग्लोबल नेपाल च्याप्टरका प्रतिनिधि प्रज्वल पोखरेलले जिल्ला अन्तर्गत झापाको मेचीनगरमा दुईवटा समूहमा प्रतिस्पर्धा गराइएको बताए ।

अल्फा र विटा समूह बनाएर विद्यार्थीको प्रतिभालाई प्रतिस्पर्धामा उतारिएको उनको भनाई छ । यहाँबाट छानिने अल्फा एक र विटा एक समूहले राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नेछन् । अल्फा समूहमा कक्षा ५ र ६ का विद्यार्थी सहभागी भएका थिए भने विटा समूहमा कक्षा ७ र ८ का विद्यार्थीलाई समेटिएको छ ।

विद्यार्थीको गणितीय सिकाईलाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउन प्रतियोगिता आयोजना गरिएको उनले जानकारी दिए । पोखरेलले यो खालको कार्यक्रम झापासहित चितवन, बुटवल, भैरहवामा आयोजना गरिनेछ । 

झापामै पहिलोपटक नौलो अभ्यासको रुपमा ‘म्याथ’ प्रतियोगिता आयोजना गरिएको ब्रेनवेभ सर्कल मेचीनगरका सल्लाहकार डम्बर रुचालले जानकारी दिए । उनका अनुसार गणित विषयलाई व्यावहारिक रुपमा जीवनसँग जोड्ने प्रयास गरिएको हो ।    

ब्रेनवेभ सर्कल मेचीनगरका संयोजक तथा झापा नेशनल स्कूलका प्रिन्सिपल कमल भेटवालले गणितलाई घर, परिवार तथा संस्कृतिसँग कसरी जोड्न सकिन्छ भनेर विद्यार्थीलाई यो नौलो कार्यक्रममा सहभागी गराइएको बताए ।