धुलाबारी ।
शैक्षिक तथा अतिरिक्त विधामा अब्बल मेचीनगरको इष्ट होराइजन अंग्रेजी माध्यमिक विद्यालयमा शनिबार ‘करियर काउन्सिलिङ’ कार्यक्रम आयोजना गरिएको छ ।
पूर्वमै सम्भवत पहिलो पटक आयोजना भएको उक्त कार्यक्रममा विभिन्न १३ वटा भन्दा बढी विधाका विषय छनोट गरेर तिनीहरुका स्टल राखिएको थियो । हरेक स्टलहरुमा विषयगत विज्ञहरुले सहजीकरण गरेका थिए ।
विद्यालय परिसरमा आयोजित करियर काउन्सिलिङ कार्यक्रममा एआई, मेडिसिन हेल्थ, विजनेश, जोर्नालिजम, एग्रीकल्चर, ल, हस्पिटालिटी, सिभिल सर्भिस, इन्जिनियरिङ, एजुकेसन, आर्टस्, स्पोट्र्स लगायतका स्टल प्रदर्शनीमा राखिएको थियो ।
विद्यार्थी र अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको उक्त विषयगत स्टलहरु मध्ये एआई र मेडिसिन हेल्थमा अवलोकनकर्ताहरुले रुचिका साथ जिज्ञासा राखेको पाइएको छ ।
विद्यार्थीलाई भविष्यमा कुन विषय बढ्दा उपयुक्त हुन्छ भनेर सहयोग पुग्ने उदेश्यले नौलो र उपयोगी कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल सन्जिव राईले बताए ।
‘विद्यार्थीहरुलाई कुन विषयमा रुचि छ भन्ने कुरा खासै थाहा नहुन सक्छ,’ उनले भने, ‘आफ्नो क्षेत्रमा चाहना भएको विषयमा रमाएर पढ्न सक्छन् भनेर त्यसका लागि यो कार्यक्रम गरिएको हो ।’
प्रिन्सिपल राईले विद्यार्थीलाई रुचि अनुसार विषय छान्न पनि सुझाव दिए । उनले विद्यार्थी र अभिभावकले नबुझीकन विषय रोज्दा भविष्यमा सफलता हासिल गर्न मुस्किल पर्ने बताए । त्यसका लागि पनि सुरुमै विद्यार्थीलाई विषयगत ज्ञान र रुचि आवश्यक रहने उनको भनाई छ ।
आगामी दिनमा यसखाले कार्यक्रमलाई निरन्तरता दिइने पनि प्रिन्सिपल राईले जानकारी दिए । कार्यक्रममा विशेषगरी विद्यालयका कक्षा ८, ९ र १० विद्यार्थी सहभागी थिए । अन्य विद्यालयका शिक्षक तथा विद्यार्थीसमेतले शैक्षिक स्टलहरुको अवलोकन गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव पौडेलको अध्यक्षता तथा अग्रज पत्रकार चन्द्र भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख अतिथि भण्डारीले विद्यालयको शिक्षा संस्कारमुखी हुनुपर्ने बताए । उनले अहिलेका नयाँ पुस्तालाई अभिभावकहरुले अर्गानिक शिक्षा सिकाउनु पर्नेमा जोड दिए ।


















