मेचीनगर।
प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा सञ्चालित ल्होत्से इङ्लिस स्कूलमा मंगलवार विज्ञान तथा कला प्रदर्शनी गरिएको छ ।विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी आफैँले निर्माण गरेका विज्ञान साम्रगी तथा कला प्रदर्शनी गरिएको हो । विद्यालयमा अध्ययनरत कक्षा ५ देखि ९ सम्मका विद्यार्थीले बनाएका विज्ञान तथा कला सामग्री प्रदर्शनीमा राखिएको हो ।
विद्यार्थीले निर्माण गरेका ज्वालामुखी, ड्रोन, स्मार्ट सिटी, अटोमेटिक वाटर लगायतका १६ वटा विधामा प्रदर्शनी गरिएको थियो । साथै, स्थानीय तथा राष्ट्रियताको पहिचान झल्काउने चित्रकलाहरु प्रदर्शनीमा राखिएको थियो । कार्यक्रममा विद्यार्थी तथा अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । आफ्ना नानीहरुले प्रदर्शनीमा राखेका विज्ञानका स्टलहरु जिज्ञासाका साथ अवलोकन गरेका थिए ।
विद्यालयका प्रिन्सिपल कमल नेपालले विद्यार्थीको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए । उनले यसखाले कार्यक्रमले विद्यार्थीलाई थप जानकारी दिन र जिज्ञासालाई मेटाउन सहयोग पुग्ने बताए । प्रिन्सिपल नेपालले विद्यार्थीलाई अझ जिज्ञासु बनाउनका लागि पनि यसखाले कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरे ।
यस्तै, विद्यालयका निर्देशक धनराज थापाले अहिलेका नानीहरु पढाइमा मात्र नभएर अतिरिक्त क्रियाकलापमा पनि दक्ष हुनु पर्ने बताए । उनले विद्यार्थीको प्रतिभालाई उजागर गरेर विज्ञानको क्षेत्रमा दक्षता हासिल गराउँदै जानुपर्ने बताए । सोही अवसरमा स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको थियो । आँखा तथा कानको विशेषज्ञ टोलीले विद्यार्थीको जाँच गरिएको हो । शिविरमा बिर्तामोड आई हस्पिटलको प्राविधिक सहयोग रहेको थियो ।
विद्यालय प्रशासन प्रमुख रिना थापा लगायतको आतिथ्यता रहेको कार्यक्रममा बिर्तामोड आई हस्पिटलका डाइरेक्टर विनोद दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रविधिको क्षेत्रमा विषयविज्ञ शिक्षकहरु रहेको ल्होत्से स्कूलमा छ सय विद्यार्थी अध्ययनरत छन् । ग्राम्रीण क्षेत्रमा सञ्चालित उक्त स्कूलले विद्यार्थीलाई प्रविधिमैत्री सिकाइमा जोड दिँदै आएको छ ।


















