हल्दीवारी ।
झापाको हल्दीबारी गाउँपालिका–४, जलथलस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो १६औँ वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको छ। कृषि, दुग्ध तथा बहुआयामिक उत्पादनमार्फत स्थानीय अर्थतन्त्र सुदृढ गर्दै आएको संस्थाले वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्व र सम्मान कार्यक्रमसँग जोडेर थप अर्थपूर्ण बनाएको थियो।
हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) प्रमुख अतिथिका रूपमा उपस्थित कार्यक्रममा उनले दीप प्रज्वलन तथा ब्यानर वाचन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए । उनले सहकारीमार्फत ग्रामीण अर्थतन्त्र सुदृढीकरण, आत्मनिर्भरता र रोजगारी सिर्जनामा संस्थाले खेलेको भूमिका प्रशंसनीय रहेको बताए।
कार्यक्रममा प्रशासन शाखा प्रमुख बाबुराम ढकाल, महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक पूर्णचन्द्र अधिकारी, जलथल स्वास्थ्य चौकीकी प्रतिनिधि चन्द्रा पोखरेल, सामाजिक अभियन्ता अभिषेक खतिवडा, सहकारीकर्मी, सेयर सदस्य, कर्मचारी तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
वार्षिक उत्सवको अवसरमा संस्थाले दूध संकलन केन्द्रमार्फत सक्रिय तथा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरेको थियो। गोलधाप दूध संकलन केन्द्रबाट गंगादेवी बास्तोला, मंगलाबारे दूध संकलन केन्द्रबाट रामप्रसाद ढकाल, अधिकारी चोक दूध संकलन केन्द्रबाट सागर राई, बालुवा चोक दूध संकलन केन्द्रबाट सीता मेचे तथा लक्ष्मीचोक दूध संकलन केन्द्रबाट अनिता पुरी सम्मानित भइन् । साथै उत्कृष्ट अन्तरसमूहका रूपमा कन्टरघुट्टु अन्तरसमूहलाई विशेष सम्मान प्रदान गरिएको थियो।
कृषि तथा पशुपालन क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने कृषकहरूलाई समेत सम्मान गरिएको थियो। माछापालनमा संलग्न अन्जना प्रसाई, व्यावसायिक तरकारी खेतीमा सक्रिय देवीमाया चौहान, बाख्रा पालनमा समर्पित भोमादेवी दङ्गाल तथा बङ्गुर पालनमा अग्रसर विरता राईलाई सम्मानपत्र प्रदान गरिएको थियो।
शैक्षिक रूपान्तरण अभियानअन्तर्गत एसईई परीक्षा २०८१ मा उत्कृष्ट अंक ल्याउने हल्दीबारी माध्यमिक विद्यालयका विद्यार्थी सुशील रेग्मी र सेन्मी राईलाई पनि संस्थाले विशेष सम्मान गरेको थियो। यसले सहकारी संस्थाले आर्थिक क्षेत्रसँगै शिक्षा क्षेत्रलाई समेत प्राथमिकता दिएको सन्देश दिएको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मानबहादुर वन, प्रधानाध्यापक पूर्णचन्द्र अधिकारी, सामाजिक अभियन्ता अभिषेक खतिवडा र स्वास्थ्य चौकी प्रतिनिधि चन्द्रा पोखरेललगायत वक्ताहरूले साना किसान सहकारीले समाज रूपान्तरण, आर्थिक सशक्तीकरण र सामूहिक विकासमा खेलेको भूमिका अनुकरणीय रहेको उल्लेख गरे ।
संस्थाका अध्यक्ष खेसकुमारी वनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन तथा सजीकरण तारा भट्टराई खतिवडाले गरेका थिए। समग्रमा १६औँ वार्षिक उत्सवले सहकारीको उपलब्धि, प्रतिबद्धता र भावी योजनालाई उजागर गर्दै सामूहिक सहकार्य र समृद्धिको सन्देश प्रवाह गरेको छ।


















