धुलाबारी । 

झापा मेचीनगर–९ स्थित होलीवेल इङ्लिस सेकेण्डरी स्कुलले विद्यार्थीले सिकेका सीप र ज्ञान अभिभावक समक्ष प्रस्तुत गर्दै आइतबार आफ्नो २५ औँ वार्षिकोत्सव ९रजत जयन्ती० कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका नगर शिक्षा अधिकारी होम भण्डारीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै उनले विद्यार्थीको चौतर्फी विकासका लागि विद्यालय र अभिभावक दुवैको महत्वपूर्ण भूमिका हुने भएकाले त्यसतर्फ विशेष ध्यान दिन आवश्यक रहेको बताए ।

स्वागत गीत र नृत्यबाट सुरु भएको कार्यक्रममा कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुले घाटु नृत्य, मयुर नृत्य, काली नृत्य, मारुनी नृत्य, महारानी नृत्य, चिरिबिरी नृत्य, डाफली नृत्य तथा जेनजी नृत्यलगायत विभिन्न सांस्कृतिक तथा सामूहिक नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै, कार्यक्रममा मानस रिजाल, यन्चना लिम्बू, आरुसी राउत, प्रकृति भण्डारी, सान्भी ढुंगाना र रस्मिका रम्तेलले प्रभावशाली भाषण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल सागर शर्माले होलीवेल स्कुलमा अध्ययन गरेका विद्यार्थीहरुले उच्च शिक्षा हासिल गरी विगत २५ वर्षमा विभिन्न देशमा डाक्टर, प्रोफेसर, इन्जिनियर लगायतका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जानकारी दिए । उनले आगामी दिनमा पनि विद्यार्थीको चौतर्फी विकासका लागि विद्यालय निरन्तर लागिरहने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयकी प्रिन्सिपल अरिस्ता प्रधानले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रममा विद्यालयकी संस्थापक अमृता प्रधान, निर्देशक अभिषेक प्रधान, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष देबु बानियाँ, मेची उद्योग वाणिज्य संघका उपाध्यक्ष कपिल क्षेत्री, पूर्व जनप्रतिनिधि लक्ष्मी परियार लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन शिक्षक विमल भट्टराई तथा विद्यालयका शिक्षिकाहरुले गरेका थिए । होलीवेल स्कुलले गत वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको जानकारी पनि कार्यक्रममा दिइएको थियो ।

अणु सरको सम्झना 

कार्यक्रमभर विद्यार्थीहरुको विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिले माहोल उत्साहपूर्ण बनेको थियो । तर, कार्यक्रमको मध्यतिर भने वातावरण भावुक बनेको देखिन्थ्यो । विद्यालयका संस्थापक प्रिन्सिपल स्वर्गीय अणु प्रधानको सम्झनामा विद्यार्थीहरुले प्रस्तुत गरेको विशेष नृत्यले सबैको ध्यान केन्द्रित गरेको थियो ।

संगीतको मधुर धुनसँगै प्रस्तुत गरिएको उक्त नृत्यले अणु प्रधानको विद्यालयप्रतिको योगदान, माया र शिक्षाप्रतिको समर्पणलाई झल्काउने प्रयास गरेको थियो । भावनात्मक प्रस्तुति यति मार्मिक थियो कि धेरै दर्शकहरु भावुक बनेका थिए भने कतिपयको आँखामा आँसु समेत देखिन्थ्यो ।

विद्यालय स्थापना र विकासमा अणु प्रधानले पुर्याएको योगदानलाई सम्झँदै प्रस्तुत गरिएको उक्त नृत्यले उनको नेतृत्व, लगनशीलता र शिक्षाप्रतिको समर्पणलाई जीवन्त रुपमा प्रस्तुत गरेको थियो । विद्यार्थीका लागि उनी केवल एक प्रिन्सिपल मात्र नभई मार्गदर्शक र प्रेरणाका स्रोत पनि थिए । कार्यक्रममा प्रस्तुत गरिएको उक्त नृत्य केवल कला प्रदर्शन मात्र नभई अणु प्रधानप्रतिको सम्मान र श्रद्धाको प्रतीकका रुपमा प्रस्तुत गरिएको थियो ।