सुरुङ्गा । 

झापाको कनकाई नगरपालिकाले आगलागी विपद ब्यवस्थापनका लागि प्रयोगात्कम ‘फायर बाइक’ प्रदर्शनी गरेको छ । नगरले आज (आइतवार) नगरपालिकाको कार्यालय परिसरमा नगर प्रहरीले आगलागी सम्बन्धी विपद ब्यवस्थापनमा अपनाउने तरिकासँगै फायर बाइकले कसरी आगलागी ब्यवस्थापन गर्न सकिन्छ भनेर डेमोटेशन गराएको हो । 

झापाका चार वटा पालिकासहित प्रदेश सरकारको संयुक्त लगानी तथा समन्वयमा एकीकृत विपद ब्यवस्थापन केन्द्रको स्थापना अन्तिम चरणमा पुगेको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए । उनले कनकाई, बिर्तामोड अर्जुनधारा नगर र बुद्धशान्ति गाउँपालिकासहित प्रदेश सरकारको पहलमा स्थापना हुने बिपद केन्द्रले बिपद् ब्यवस्थापन गर्ने भएकाले नगरमा हुने सानापिता बिपद ब्यवस्थापनका लागि फायर बाइक सञ्चालन गरिएको बताए । 

उनले कनकाई नगरले नयाँ–नयाँ प्रविधिलाई भित्र्याउने गरेको र त्यसै अनुरुप यो फायर बाइकलाई पनि सञ्चालन गरिएको बताए । संयुक्त रुपमा स्थापना हुने बिपद् केन्द्रमा आवश्क जनशक्ति ब्यवस्थापन गर्न सहजसँगै आवश्यक सम्पूर्ण यन्त्रहरु सहज हुने भएकाले पनि हाललाई नगरबासीको समस्या सामाधानका लागि फायर बाइक सञ्चालनमा ल्याएको नगर प्रमुख पोखरेलको भनाई छ । 

‘कता हो’ एप्सको माध्यमबाट कुनैपनि नगरबासीको स्वास्थ्य समस्या, चोरीका घटना साथै आगलागीका बिषयमा जानकारी आउने र त्यसरी आएको जानकारी सम्बन्धीत घरका दुई जना सदस्यको मोवाइलसहित नगर प्रमुख, उप–प्रमुख प्रमुख प्रशासकीय अधिकृत, बिपद सम्पर्क ब्यक्ति र आइटीसहित नगरमा साइरन बज्ने इआरसी बिशेयज्ञ रामप्रसाद रिमालले जानकारी दिए । 

रिमालका अनुसार नगरमा रहेको आपतकालीन यन्त्रमा साइरन बजेसँगै क्यूआर कोड आउने र त्यसलाई स्क्यान गरेपछि लोकोशन पत्ता लाग्नेछ । उनले कता हो एप्सको माध्यमबाट १० जनासमेतलाई म्यासेज जाने बताए । त्यसपछि गएर समस्या अनुसार बिपत ब्यवस्थापन गर्न सकिने उनले बताए । 

बिपद बिज्ञ डिएसपी किशोरकुमार भट्टराईले फायर बाइकका मद्दतले गरिने बिपद ब्यवस्थापन प्रदर्शन गरेका थिए । साथै उनले फायर बाइक प्रयोग गर्ने तरिका र कुनैपनि दुर्घटनामा घाइतेलाई सहयोग गर्ने तरिकासमेत नगर प्रहरीलाई सिकाएका छन् । 

फायर बाइक प्रदर्शनी कार्यक्रममा नगरकी उप–प्रमुख आशा शर्मा शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने, वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारीलगायतको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण नगरका बिपद सम्पर्क ब्यक्ति उमानाथ ढकालले गरेका थिए ।