बिर्तामोड । 

झापाली स्रष्टा नगेन्द्र प्रसाईको स्वर, शब्द तथा संगीतमा तयार नेपाली भजन ‘पाथिभरा अम्बे भवानी’ र लोकगीत ‘साहुबाकी छोरी’ एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। सोमवार झापाको बिर्तामोडस्थित साहित्य चौतारीको सभाहलमा आयोजित कार्यक्रममा साहित्य चौतारी नेपालका संस्थापक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले सार्वजनिकरण गरेका हुन् । 

भजन ‘पाथिभरा अम्बे भवानी’ तथा ‘साहुबाकी छोरी’ गीतको छायांकन इलामको फिकलसहित झापाका विभिन्न स्थानहरूमा गरिएको छ। म्यूजिक भिडियोमा संजय शिवाकोटी, जीना अधिकारी, शिशिर प्रसाई, मञ्जु धिमाल, निरज पोखरेल र पवन ढकाललगायत कलाकारहरूको अभिनय रहेको छ।

भिडियोको छायांकन पवन ढकाल र कवि गुरागाईंले गरेका हुन् भने सम्पादन भरत भावुक प्रसाई र कवि गुरागाईंले गरेका छन्। कोरसमा भरत भावुक प्रसाई र निरज पोखरेल रहेका छन् भने निर्माण कमला शिवाकोटीले गर्नुभएको हो। भक्तिभावले ओतप्रोत ‘जय बोलौँ पाथिभरा अम्बे’ भजनमा धार्मिक आस्था र सांस्कृतिक चेतनाको सशक्त अभिव्यक्ति प्रस्तुत गरिएको छ। त्यस्तै ‘साहुबाकी छोरी नाम रहेछ गोरी’ लोकगीतमा चुड्के भाकाको मिठाससँगै आधुनिक पुस्ताको चाहनालाई समेटिएको भिडियोका निर्देशक भरत भावुक प्रसाईले बताए।

गायक तथा संगीतकार प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्देशक प्रसाईले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै उपस्थित अतिथिहरूलाई स्वागत गरेका थिए ।  कार्यक्रममा साहित्य चौतारीका संस्थापक सचिव खीलराज शिवाकोटी तथा गायक प्रसाईलाई निर्देशककी आमा पवित्रा प्रसाईले दोसल्ला ओढाएर तथा टिका लगाई सम्मान गरेका थिए । 

बिमोचन कार्यक्रममा विशिष्ट अतिथि शिवाकोटीले गीत अत्यन्तै सुन्दर बनेको र युवाहरूको प्रिय बन्नेमा आफू विश्वस्त रहेको बताए। उनले निर्देशन पक्षको प्रशंसा गर्दै गीत उत्कृष्ट बनेको उल्लेख गरे ।  नेपाल पत्रकार महासंघ शाखाका सह–सचिव तिलक योञ्जनले म्यूजिक भिडियो अहिलेका युवाको रुचिअनुसार बनेको बताए ।  झापाली स्रष्टा नगेन्द्र प्रसाईले अब गायनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । 

म्यूजिक भिडियो ‘नगेन्द्र’ युट्युब च्यानलमार्फत हेर्न सकिने प्राविधिक संयोजक निरज पोखरेलले जानकारी दिए। कार्यक्रमको सञ्चालन मोडल तथा साहित्यकार जीना अधिकारीले गरेकी थिइन् ।