सुरुङ्गा ।
सामाजिक युवा ब्यक्तित्व दीपक ओलीले सामुदायिक बिद्यालयबाट एसईई सहभागी हुन लागेका बिद्यार्थीलाई ४५ दिने खाना खुवाउने अभियान सञ्चालन गर्दै आएका छन् ।
कनकाई–१ निवासी युवा ओलीले सरस्वती माध्यमिक बिद्यालय कनकाई–२ जामुनावारीमा अध्ययनरत १० जना छात्र र १० जना छात्रालाई खाना खुवाउने अभियान सञ्चालन गर्दै आएका हुन् ।
सरस्वती माबिमा अध्ययनरत बिपन्न नागरिकका छोराछोरीहरुलाई खाना खुवाउँदा उनीहरुले बिद्यालयबाट घर पुगेर चिसो खाना खाना खानु नपर्ने र पढाईमा सुधार आउने उदेश्यले बिद्यालयमै पढाईसँगै खानाको व्यवस्था गरिएको ओलीले बताएका छन् । ग्रामीण क्षेत्रका बिपन्न बिद्यार्थीहरु भोकभोकै बिद्यालय आउने गरेकाले पनि उनीहरुको पढाई स्तरलाई मध्यनजर गरेर आगामी एसईई परिक्षालाई लक्षित गरी बिद्यालयमै खानाको व्यवस्था गरिएको उनको भनाई छ ।
सामाजिक अभियन्ता ओलीले ‘छोडी स्वार्थ, गरौं सेवा, तव मिल्छ अमरता, मानव सेवा नै धर्म हो, हामी निरन्तर सेवामा छौं’ भन्ने मुल नाराका साथ एसईई परिक्षार्थीहरुलाई निःशुल्क खाना तथा दिवा खाजा अभियान गत फागुन ३ गतेदेखि सञ्चालन गर्दै आएका छन् ।
२० दिनसम्म एकलौटी निःशुल्क खाना खुवाएसँगै अहिले केही संघसंस्था र सामाजिक ब्यक्तित्वहरु पनि जोडिएकाले केही सहज भएको ओलीले बताए । खानामा दैनिक दुई हजार २ सयदेखि ३ हजार ५ सयसम्म खर्च हुने गरेको उनको भनाई छ । उनले अभियानमा जोडिएर आर्थिक तथा भौतिक रुपमा साथ र सहयोग गर्नेहरुलाई धन्यवादसमेत दिएका छन् ।
बिद्यालयका प्रधानाध्यापक नारायाणप्रसाद अधिकारीले अभियानले बिद्यार्थीको पढाईमा सुधारसँगै टाढा–टाढा बाट बिद्यालयमा आउने बिद्यार्थीका लागि सहज भएको बताए । उनले यस्तो अभियान बिद्यालयमा पहिलो पटक सञ्चालन भएको र यसले एसईईमा रामा्र नतिजा ल्याउने बताए ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पशुपति आचार्यले यो अभियानले बिद्यार्थीलाई धेरै सहज भएको बताएका छन् । आगामी चैत १७ गते खाना खुवाउने ४५ दिने अभियान सम्पन्न हुने र चैत १९ गतेदेखि हुने एसईईमा बिद्यार्थीहरु सहभागी हुने बताइएको छ ।


















