झापा ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जायज समस्याको समाधान नभए व्यवसाय बन्दको विकल्प नरहने जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले वैदेशिक रोजगारमा जाने श्रमिकसँग १० हजार रुपैयाँभन्दा बढी सेवा शुल्क लिने म्यानपावर कम्पनीलाई कडा कारबाही गर्ने बताएपछि संघले सरकारी दृष्टिकोण अव्यावहारिक र तर्कसंगत नभएको जनाएको हो ।
नवनियुक्त श्रममन्त्री साहले तोकिएभन्दा एक रुपैयाँ पनि बढी लिए सरकारले म्यानपावर व्यवसायीको लाइसेन्स नै खारेज गर्ने चेतावनी दिएका छन् । त्यस विषयमा संघले आइतबार संघलाई छाता संस्था मान्ने घटक संस्थाका अध्यक्ष तथा महासचिवसँग छलफल गरेको थियो । छलफलपछि मंगलबार मन्त्री साहलाई भेटेर लिखित रूपमा छलफलका निष्कर्ष र संघको अडान राख्ने तयारी रहेको महासचिव महेशकुमार बस्नेतले जानकारी दिए ।
उनले सरकार आफैंले कामदार वैदेशिक रोजगारमा पठाउँदा पाउने २ लाखसम्म शुल्क लिने, २ देखि ६ करोड धरौटी राख्न बाध्य पारिएका व्यवसायीलाई १० हजार मात्रै शुल्क लिन जबरजस्ती गर्ने काम तर्कसंगत नभएको बताएका छन् । सरकारले हाम्रा जायज माग सुनेन भने हामी कामदार नपठाई कार्यालय बन्द गर्न बाध्य हुने भन्दै सरकारले हामीलाई जबरजस्ती कामदार पठाऊ भन्न नसक्ने र कार्यालय बन्द गर्न स्वतन्त्र भएको स्पष्ट पारे ।
महासचिव बस्नेतले नयाँ जनादेशबाट आएको सरकारले नयाँ तरिकाले नसोची पुरानै असफल नीति कार्यान्वयनमा लैजान खोज्न नहुने भन्दै वैदेशिक रोजगार लागत निर्धारण र सेवा शुल्क स्पष्ट नभएको अवस्थामा कारबाहीको त्रास देखाएर हेलो सरकार वा श्रमधान कल सेन्टर वा मोबाइलमा उजुरी गर्न आग्रह गरेर समस्याको समाधान नहुने बताए ।
मन्त्रालयले २०७२ जेठ २६ गते साउदी अरब, कतार, कुवेत, बहराइन, ओमान, युएई र मलेसियाका रोजगारदाताले सेवा शुल्क नदिएको अवस्थामा श्रमिकसँग सेवा शुल्कबापत १० हजार रुपैयाँ मात्रै लिन पाउने व्यवस्था कार्यान्वयनमा ल्याएको थियो ।
वैदेशिक रोजगार व्यवसायीहरूले त्यसलाई हालसम्म स्वीकार गरेका छौनौं र अब पनि स्वीकार्य नहुने उनको धारणा थियो । रोजगारदाताले नेपाली कामदारलाई हवाई टिकट उपलब्ध गराएको अवस्थामा नेपाली कामदारले पाउने एक महिना बराबरको तलब सेवा शुल्कबापत लिन पाउने नीति हुनुपर्ने संघको अडान रहेको छ ।
पछिल्लो समयमा इजरायल–अमेरिका र इरानबीच चलेको युद्धका कारण विश्वब्यापी रुपमा बिभिन्न समस्या देखिदै आएका छन् । जेनजी आन्दोलनपछि धरासायी बन्दै गएको वैदेशिक रोजगार युद्धका कारण झन् खस्किदै गएको छ । युद्धका कारण श्रम मन्त्रालयले श्रमस्वीकृति बन्द गरेको र अधिकांश म्यानपावर कार्यालय बन्द हुने अवस्थामा रहेका छन् । म्यानपावर कम्पनीका देशभर रहेका शाखा कार्यालयहरुको अवस्था पनि उस्तै छ । युद्धका कारण केही देशबाट वैदेशिक रोजगारका रहेका ब्यक्तिहरुसमेत फर्कर्दै र फर्किने क्रममा रहेका छन् ।


















