हल्दीवारी ।
झापाको हल्दीवारी गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । पालिकाले आज (बिहीवार) गाउँपालिकाको कार्यालय परिसरमा सार्वजनिक सुनुवाई गरेको हो । हल्दीवारी गाउँपालिकाको आयोजनामा भएको सार्वजनिक सुनुवाईको सहजीकरण झापा युनेस्को संघ नेपाल, भद्रपुरले गरेको थियो ।
पालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागतसहित कार्यक्रमको औचित्यमाथि प्रकाश प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) ले पारेका थिए । कार्यक्रममा पालिकामा भएका विकास योजना र कार्यालयको सेवाका बिषयमा उपस्थिति ब्यक्तित्वहरुले प्रश्नसहित सुझाव दिएका थिए ।
सुनुवाई कार्यक्रममा अपाङ्गमैत्री कार्यालय हुनुपर्ने, केही योजनाहरु अपुरा र अधुरा भएकाले त्यसको निर्माण कार्यलाई अघि बढाउनु पर्ने, सडकमा रहेका सोलार बत्तीलाई पुनःनिर्माण गर्नुपर्नेलगायतका प्रश्न जिज्ञासा, गुनासा र सुझाव उपस्थित पालिकाका बिभन्न संघसंस्थाका प्रतिनिधि साथै उपस्थित व्यक्तित्वहरुले राखेका थिए । अधिकांशले कार्यालयबाट दिइने सेवा सुबिधा चुस्त र दुरुस्त नै भएको बताएका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सोधिएका प्रश्नको जवाफ पालिकाका अध्यक्ष लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत महेन्द्र, हल्दीवारी–१ का वडाध्यक्ष देवीबहादुर थापा, २ का वडाध्यक्ष सुकलाल राजवंशी, ३ का वडाध्यक्ष बिष्णुप्रसाद ओली, ४ का वडाध्यक्ष सन्तकुमार थापा, ५ का वडाध्यक्ष खड्गबहादुर लावती, कार्यालयका योजना शाखा प्रमुख राजन न्यौपानेसहित सम्बन्धीत शाखाका प्रमुख तथा अधिकृतले दिएका थिए ।


















