झापा ।
अध्यागमन विभागले वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली श्रमिकले अनावश्यक बिल, रसिद वा अन्य थप कागजात बोक्नुपर्ने बाध्यता नरहेको जनाएको छ ।
यसअघि वैदेशिक रोजगारमा जाने श्रमिकले विमानस्थलमा हवाई टिकटको बिल र म्यानपावर कम्पनीलाई तिरेको रकमको रसिद देखाउनुपर्ने व्यवस्था गरिएको थियो ।
तर विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्ने श्रमिकका लागि राहदानी र वैदेशिक रोजगार विभागले उपलब्ध गराउने श्रम स्वीकृति जस्ता आधारभूत कागजात भए पुग्ने स्पष्ट पारेको छ ।पछिल्लो समय सञ्चारमाध्यममा आएका समाचार तथा सूचनाका कारण श्रमिकहरूमा उत्पन्न भएको अन्योल हटाउन यस्तो जानकारी सार्वजनिक गरिएको विभागले जनाएको छ ।
अतिरिक्त कागजात अनिवार्य गरिएको भन्ने बुझाइ सही नभएको पनि विभागको भनाइ छ । गृह मन्त्रालयको निर्णय र लागू कानुनी प्रावधानअनुसार यात्रुहरूलाई झन्झट नपरोस् भन्ने उद्देश्यले यो विषय स्पष्ट पारिएको जनाइएको छ । विभागले विदेश जाने तयारीमा रहेका नेपालीलाई अफवाहमा नलागी आवश्यक कागजात मात्र सुनिश्चित गरी यात्रा गर्न आग्रह गरेको छ ।

















