झापा ।
नेपालमा हाल पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। हाल देशका विभिन्न भू–भागमा बदली र वर्षाको सम्भावना बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले विशेष गरी हिमाली क्षेत्रमा बादल लागेको छ भने पहाडी भेगमा आंशिक बदलीको अवस्था छ। तराईका जिल्लाहरूमा भने मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ।
आज दिनभर कोशी प्रदेशको पहाडी भेग र देशका अन्य हिमाली क्षेत्रमा बादल लाग्ने देखिन्छ। बाँकी पहाडी क्षेत्रमा पनि आंशिक बदली हुने सम्भावना छ। तराईमा भने घाम लाग्ने र मौसम सफा रहने प्रक्षेपण गरिएको छ।
आज कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। साथै गण्डकी प्रदेशको पहाडी भू–भाग र अन्य हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि हल्का वर्षा र हिमपात हुन सक्ने देखिएको महाशाखाले जनाएको छ ।


















