झापा । 

झापाको मेचीनगरमा मोटरसाइकल दुर्घटनामा परेर सशस्त्र प्रहरी बलका एक सहायक हवल्दारको मृत्यु भएको छ। मेचीनगर नगरपालिका–२ स्थित दुर्गा मन्दिर नजिक मदन भण्डारी राजमार्ग सडक खण्डमा मंगलबार बेलुका करिब ५ः३० बजे तिरिङखोलाबाट बाहुनडाँगीतर्फ जाँदै गरेको मे ७ प ९६५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको थियो । 

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार पाँचथरको फिदिम नगरपालिका–१२ घर भई हाल मेचीनगर–२ बाहुनडाँगीस्थित बीओपीमा कार्यरत ३५ वर्षीय सहायक हवल्दार सचिन तामाङ गम्भीर घाइते भएका थिए। 

उनको नाक तथा शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारका क्रममा सोही दिन साँझ करिब ६ः४५ बजे मृत्यु भएको हो।

मोटरसाइकल चालक झापाको अर्जुनधारा नगरपालिका–१ घर भई सोही बीओपीमा कार्यरत ४० वर्षीय हवल्दार डिल्लिराम सुबेदी सामान्य घाइते भएका छन्। दुर्घटनामा संलग्न मोटरसाइकल इलाका प्रहरी पोस्ट भृकुटीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।