माइधार । 

झापाको शिवसताक्षी–१०, माइधारमा रहेको श्रीलक्ष्मीनारायण मन्दिर तथा जगद्गुरु योगिराज श्रीकमलनयनाचार्य आश्रममा आयोजना हुन लागेको श्रीलक्ष्मीनारायण दिव्यदेशको प्रतिष्ठा (महासम्प्रोक्षण) समारोहको तयारी अन्तिम चरणमा पुगेको छ । 

विस. २०७८ वैशाख १६ गते शिलान्यास गरी निर्माण कार्य शुरु गरिएको मन्दिरले आगामी वैशाख ११ देखि १८ गतेसम्म आयोजना गर्न लागेको दिव्यदेशको प्रतिष्ठा समारोहको तयारीका बारेमा आज (बुधवार) मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । 

श्रीलक्ष्मीनारायण दिव्यदेशको निर्माण निर्धारित समयसीमा भित्र नै सम्पन्न गर्न सफल भएको जनाउँदै निर्माणमा आइपुग्न सहयोग गर्ने सम्पूर्ण दाता महानुभाव एवं सम्बन्धित पक्षप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ । 

आश्रमलाई दिव्यदेशका रुपमा विकसित गर्ने जगद्गुरु योगिराज श्रीकमलनयनाचार्य स्वामीजी महाराजको संकल्प साकार बनेको भन्दै मन्दिरका अध्यक्ष स्वामी गोविन्दचार्य गोविन्दप्रसाद दाहालले जानकारी दिए । 

समारोहका लागि १००८ सदस्यीय मूल समारोह समिति, सचिवालय, सम्पादन समिति साथै विभिन्न उपसमितिहरु तथा स्थानीय उपसमितिहरु समेत सक्रिय रहेका छन् । आध्यात्मिक गरिमा एवं महत्व बोकेको यस कार्यक्रमा उपस्थित भएर  कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न सम्पूर्ण आचार्य एवं भक्त भागवत महानुभावलाई आग्रहसमेत गरिएको छ । 

समारोहमा प्रमुख आचार्यका रुपमा दक्षिण भारतको तामिलनाडु काञ्चीपुरम् स्थित श्रीकाञ्चीप्रतिवादी भयंकर सिंहासनाधीश्वर जगद्गुरु अनन्तश्रीविभूतिषत श्रीश्रीनिवासाचार्य गादी स्वामीजी महाराजको तथा प्रमुख कथा वाचकका रुपमा श्रीराम कथाको प्रवचनका निम्ति श्रीधाम अयोध्याबाट जगद्गुरु श्रीराघवाचार्य स्वामीजी महाराजको उपस्थिति रहने  मन्दिरका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद तिम्सिनाले जानकारी गराए । 

तिम्सिनाका अनुसार यासँगै नेपाल, भारत, भुटान, अष्ट्रेलिया, अमेरिका, क्यानडा लगायतका विभिन्न मुलुकका सनातन परम्परानिष्ठ विशिष्ट आचार्य, धर्मगुरु र विद्वान् विदुषीको कथा प्रवचन समेत आयोजना हुनेछ ।

सोही अवसरमा नवनिर्मित श्रीलक्ष्मीनारायण दिव्यदेशका सातवटा मन्दिरमा स्थापना गरिने एक दर्जन शिला विग्रह (मूर्ति) र दुई दर्जन भन्दा बढी धातु विग्रह (मूर्ति) को विधिवत प्राण प्रतिष्ठा सम्पन्न गरिनेछ । कार्यक्रमको उद्घाटन २०८३ वैशाख ११ गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत काकीको प्रमुख आतिथ्य हुने सचिव हरिनारायण बाँस्कोटाले बताए । 

उद्घाटनपछि हुने शोभायात्रा आश्रमबाट प्रारम्भ भएर सुरुङ्गा, दुर्गापुर, लक्ष्मीपुर हुँदै अर्जुनधारा जलेश्वरधाम पुगेर विर्तामोड नगर क्षेत्रको परिक्रमा पूरा गरी मन्दिरमा आउने बताइएको छ । 

कार्यक्रम  िअन्तरगत दैनिक रुपमा श्रीरामकथा प्रवचन, भजन संकीर्तनका साथै योग शिविर, विशेषज्ञ डाक्टर सहितको निःशुल्क स्वास्थ्य सेवा, नियमित आँखा जाँच लगायतका कार्यक्रमहरु समेत सञ्चालन हुनेछन् ।

प्रतिष्ठा कार्यक्रम अन्र्तगत दैनिक रुपमा फरक फरक कार्यहरु सम्पादन गरिनेछ । महासम्प्रोक्षण अनुज्ञा (सामूहिक संकल्प), ध्वजारोहण, मृदाहरण, वास्तुपूजन, जलाधिवास, विग्रह कलाकर्षण, धान्याधिवास, शय्याधिवास, विविध प्रकारका न्यास, महाअभिषेक, नेत्रोन्मीलन लगायत महत्वपूर्ण धार्मिक विधिहरु सम्पादन गरिनेछन् । सोही अवसरमा पञ्चकुण्डात्मक हवन लगायतका अनुष्ठानात्मक कार्यहरु पनि सम्पन्न गरिने सचिव बाँस्कोटाले जानकारी दिए । 

दैनिक १० औं हजार भक्तजनहरुको सहभागीता रहने अपेक्षा गरिएको यस कार्यक्रममा तेस्रो मुलुकबाट समेत हजारौं भक्तजनको सहभागिता रहने छ । विगत दुई महिना अघिबाट पश्चिम एसियामा बढेको द्वन्द्वका कारण धेरै शिष्य समुदायको यात्रा चुनौतिपूर्ण देखिए पनिभक्तजनहरु सहभागी हुन लालायित भएको तथा कठिनाई पूर्ण अवस्थामा पनि उनीहरु आउने क्रम सुरु भईसकेको मुल समारोह समितिले जनाएको छ । 

देश विदेशमा छरिएर रहेका शिष्य सम्पदा, स्थानीय सरकारका रुपमा शिवसताक्षी नगरपालिका, कोशी प्रदेश सरकार, सम्बन्धित सरकारी निकाय, जनप्रतिनिधिज्यू,  स्थानीयवासी महानुभाव र सम्पूर्ण उदारमना दाताहरुको सहकार्यमा कार्यक्रम सफल हुने विश्वास  आयोजक समितिले लिएको छ । 

प्रतिष्ठा समारोह सम्पन्न गर्न २ करोड ५० लाख रुपैयाँ  खर्च लाग्ने आयोजकको अनुमान  छ भने यसको मुख्य स्रोत दान चन्दा र सहयोग नै भएको बताइएको छ । कार्यक्रममा प्रतिष्ठाको यजमान सेवाका रुपमा विभिन्न सन्निधिका निम्ति अलग अलग सेवा रकम निर्धारण गरिएका छन् । यसैगरी दैनिक भोजन खर्च वापत  ५ लाख रुपैयाँ लाग्ने अनुमान आयोजकको छ भने कार्यक्रममा सहभागीता जनाएर  भव्य रुपमा सफल बनाईदिन आयोजक समितिले सवैमा आग्रह गरेको छ । 

कार्यक्रमलाई सफल बनाउन आवश्यक आर्थिक एवं जिन्सी सहयोग गरिदिन शिवसताक्षी नगरपालिका, कोशी प्रदेश सरकार, संघीय सरकारका साथै उदारमना उद्योगी, व्यवसायी, पत्रकार, समाजसेवी, स्थानीयवासी, देश विदेशमा छरिएर रहेका सम्पूर्ण गुरुबन्धुसमुदाय, श्रीवैष्णव जगत् र धर्मानुयायी सम्पूर्ण भगवद्भक्त महानुभाव आग्रहसमेत गरिएको छ ।