झापा ।
वैदेशिक रोजगार विभागले थप ४ देशका लागि पुनः श्रम स्वीकृति खुला गरेको छ । इजरायल, कुवेत, बहराइन र लेबननका लागि पुनः श्रम स्वीकृति खुला गरेको विभागले जनाएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको फागुन १७ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार यसअघि साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई), कतार, ओमान, यमन, जोर्डन र टर्कीका लागि पुनः श्रम स्वीकृति खुला गरिएको थियो । सोही निर्णयको निरन्तरतास्वरूप बाँकी रहेका ४ देशका लागि पनि पुनः श्रम स्वीकृति खुला गरिएको विभागले जनाएको छ ।
त्यसैगरी, इराकको हकमा भने मन्त्रिपरिषद्को गत पुस महिनाको निर्णयअनुसार श्रम स्वीकृति प्रदान गरिनेछ । मन्त्रिपरिषद्को निर्णयअनुसार ‘रेसिडेन्सी कार्ड’ र सम्बन्धित कम्पनीको आधिकारिक कागजात भएका कामदारहरूले नेपाल आएका बेला श्रम स्वीकृति पाउने व्यवस्था गरिएको छ ।
यद्यपि, नयाँ श्रम स्वीकृति (संस्थागत) खोल्नुपर्ने माग भने अझै चर्को रूपमा उठिरहेको छ । श्रम स्वीकृति नखुल्दा करिब ४० हजारभन्दा बढी युवा काठमाडौंमै अलपत्र परेको वैदेशिक रोजगार व्यवसायीहरूले बताएका छन् । व्यवसायीहरूका अनुसार स्वास्थ्य परीक्षण, भिसा प्रक्रिया लगायतमा गरेको करोडौं रुपैयाँ लगानीसमेत जोखिममा परेको छ ।
व्यवसायीहरूले हालको नीतिप्रति असन्तुष्टि जनाउँदै ‘पुराना कामदारलाई मात्र पठाउने र नयाँलाई रोक्ने’ निर्णयले समस्या समाधान नहुने बताएका छन् । वैदेशिक रोजगारीका लागि तयारीमा रहेका युवाहरूले पनि सुरक्षा जोखिम सबैका लागि समान हुने भन्दै विभेदपूर्ण नीति अन्त्य गर्न सरकारसँग माग गरेका छन् ।


















