झापा ।
मलेसियाको अध्यागमन विभागले नेपाली नागरिकको नेतृत्वमा सञ्चालित मानव तस्करी तथा नक्कली कागजात बनाउने गिरोहमाथि ठुलो कारबाही गर्दै मुख्य योजनाकारलाई पक्राउ गरेको बताएको छ ।
विभागले ४३ वर्षीय नेपाली नागरिक महेन्द्रजंग शाहलाई राजधानी क्वालालम्पुर क्षेत्रमा गरिएको छापामार कारबाहीका क्रममा पक्राउ गरिएको जनाएको छ । प्रहरीले उनलाई क्वालालम्पुरको जालान ग्यालोवे आसपास निसान सेन्ट्रा कारमा भाग्न खोज्दा नियन्त्रणमा लिएको थियो । शाह जाजरकोट निवासी हुन् । मलेसियामा मुख्यगरी बंगलादेशका नागरिक भिसा ठगी प्रकरणमा उनी पटकपटक पक्राउ पर्दै आएका छन् । हालसम्म ठुलो परिणामको ठगीको आरोपमा नेपाली पक्राउ परेका थिएनन् ।
शाहसँग वैध विदेशी आवास अनुमति रहेको भए पनि यसअघि सन् २०१६ मा मलेसियाको विशेष आतंकवादविरोधी शाखाले समेत उनलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । अध्यागमन महानिर्देशक दातुक जकारिया शाबानले शाहको गिरोह सन् २०१९ देखि नक्कली भिसा र कागजात बनाउने काममा सक्रिय रहँदै आएको र हालसम्म १० करोड रिंग्गेटभन्दा बढी आम्दानी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएका छन् ।
कारबाहीका क्रममा २६ देखि ६१ वर्ष उमेर समूहका ९ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा शाहसहित भारतीय, बंगलादेशी नागरिक, एक स्थानीय पुरुष र स्थायी बसोबास अनुमति प्राप्त एक भियतनामी महिला रहेका छन् । ती स्थानीय पुरुष र भियतनामी महिला गिरोहसँग जोडिएका कम्पनीका सञ्चालक रहेको आशंका गरिएको छ ।
६ महिनासम्मको गुप्त सूचनाका आधारमा सञ्चालन गरिएको उक्त अपरेसनमा सुरक्षा स्टिकरसहितका नक्कली ई–पास, १११ वटा राहदानी, १० ल्यापटप, ६ मोबाइल फोन र ३ हजार ९५० रिंगेट नगद बरामद गरिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार गिरोहले विदेशी कामदारलाई अवैध रूपमा मलेसिया प्रवेश गराइदिने र त्यसपछि नक्कली आप्रवासन कागजात उपलब्ध गराउँदै प्रति व्यक्ति ६ हजार रिंगेट करिब सवा दुई लाख रुपैयाँसम्म असुल्ने गरेको बताइएको छ ।
घटनाबारे आप्रवासन ऐन तथा गैरकानुनी आम्दानी, आतंकवाद वित्तपोषण र सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन २००१ अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । दोषी ठहरिएमा संलग्न व्यक्तिलाई अधिकतम १० लाख रिंगेट जरिवाना र १५ वर्षसम्म कैद सजाय हुन सक्ने प्रावधान रहेको मलेसियाका अधिकारीहरूले बताएका छन् ।
गत वर्ष सेप्टेम्बरमा सिंगापुरमा रहेको इन्टरपोलको राष्ट्रिय केन्द्रीय ब्युरोले नेपाल प्रहरीसँग आतंकवादी र आतंकवाद–वित्तपोषण गतिविधिहरूमा संलग्नताको आशंकामा शाहका बारेमा जानकारी मागेको पनि मलेसियाका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।


















